चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ ।
यो चलचित्रको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं फर्किएको हो । यो चलचित्रको लभ सङ ‘घाम जुन नै चाहिँदैन…’को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुत कर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।
यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ ।
यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।
लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।




















