काठमाडौं / प्रतिनिधिसभा शुक्रबार बसेको बैठकमा भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गरेका हुन् ।
संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गरिन् । दाहालले भेनेजुएलामा भएको राजनीतिक संकटमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै स्वतन्त्र निर्णय गर्न दिनुपर्ने धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए ।
विज्ञप्तिपछि नेपाल अमेरिका सम्बन्धमा चिसोपना आएको छ भने आन्तरिक राजनीतिसमेत तरंगित भएको छ । विज्ञप्तिबारे बिहिबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जिब्रो चिप्लिएको भन्दै बचाउ गर्न खोजे पनि अर्का अध्यक्ष दाहालले त्यसको खण्डन गर्दै आफूले होसमै भेनेजुएलबारे बोलेको बताएपछि सत्तारुढ दलको फरक फरक धारणा सतहमा आएको थियो ।
यसअघि नेकपाको सचिवालयले दाहालको धारणालाई नै पार्टीको आधिकारिक धारणा भएको निर्णय गरेको थियो ।
कांग्रेसले कुटनीति जस्तो संवेदनशील विषयमा सरकारले हास्यास्पद व्यवहार गरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई त्यसबारे आधिकारिक धारणा दिन माग गरेको हो ।


















