गोपालले सबैलाई ठगे, गोपाललाई बद्रीले ठगे

605

काठमाडौं / देशका वरिष्ठतम अधिवक्ताहरू र सर्वाेच्च अदालतका अवकाश प्राप्त न्यायाधीशहरूसमेत सम्मिलित रहेको एउटा दीर्घकालीन प्रभाव पार्ने योजनाका साथ थालनी गरिएको शैक्षिक कार्यक्रमको अभियान धराशायी हुन पुगेको छ । वरिष्ठ अधिवक्ताको समेत हैसियत बनाएका डा. गोपाल शिवाकोटी ‘चिन्तन’ र उनका विश्वासपात्र सहयोगी बद्रीकुमार थापा दुईजनाको बदनियतले गर्दा ७२ जनाको सहभागितामा सुरु हुने तयारीमा रहेको मञ्जुश्री एजुकेशनल एकेडेमी नामक संस्था गर्भमै तुहिने अवस्थामा पुगेको छ । गोपाल शिवाकोटी ‘चिन्तन’कै अगुवाईमा यो एकेडेमी दर्ता प्रक्रिया अगाडि बढेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा ०७४ माघ २६ गते दर्तासमेत गरिएको यो कम्पनीका नामबाट चिन्तन र थापाले विभिन्न व्यक्तिहरूबाट शेयर रकम भन्दै २ करोड १० लाख ३० हजार रकम संकलन गरी हिनामिना गरेपछि कम्पनी धराशायी भएको छ । रकम नगद संकलन गर्दै बैंकमा दाखिला नगरी आफू खुशी निजी प्रयोजनमा लगानी गर्ने काम भएको जानकारी सञ्चालक समितिलाई भएपछि सञ्चालक समितिले निजहरू दुवै जनालाई रकम दाखिला गर्न समय दिंदा पनि रकम दाखिला नगरेपछि दुवैजना विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको थाहा भएको छ ।

सर्वाेच्च अदादतका पूर्व न्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा रहेको सञ्चालक समितिले विशेष साधारणसभा बोलाएर चिन्तन र थापा दुवैलाई संकलन गरेको रकम कम्पनीको खातामा जम्मा गर्न पटक–पटक निर्देशन दिंदा पनि उनीहरूले दाखिला गरेनन् । कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाइएको रकम कानुन व्यवसायीकै हैसियतमा रहेका गोपाल शिवाकोटीको अगुवाईमा हिनामिना भएको छ । गोपाल शिवाकोटीले संकलन गरेको सबै रकम बद्री थापाले प्रयोग गरेको जनाइरहेका छन् । दुवै जनालाई टेकुस्थित काठमाडौं प्रहरी प्रभागमा हिरासतमा राखिएके छ । अदालतबाट ७ दिनको थपिएको प्रहरीले जनाएको छ ।

कम्पनीका सेयरधनी रहेका सर्वाेच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनालीलगायत ७२ जना गोपाल शिवाकोटी ‘चिन्तन’बाट पीडित बनेका छन् भने स्वयम् गोपालले चाहीं बद्रीकुमार थापाले सबै संकलित रकम प्रयोग गरेर आफूलाई बर्बाद गरेको जनाइरहेका छन् । कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले जनाएका छन् । दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको लामाले पुष्टि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here