काठमाडौं / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै फागुन ८ गते लुम्बिनी जिल्ला बन्दको आह्वान गरेको छ ।
फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको हो ।
प्रेस विज्ञप्तिमा गत शुक्रबार नेकपाका लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगद्वारा नेकपाले चलाएको दुई महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्ली पाल्पा, अर्घाखाँची बन्दको घोषणा गरेका हुन ।
नेकपाको अभियानमा सहभागी भएर हिँडेका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाँची सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई गत माघ २३ गते अर्घाखाँचीबाट प्रहरीले पक्राउ गरेको थियो। उनीहरु सबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको छ ।
यस अघिपनि नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेपछि उनको रिहाईको माग गर्दै गत माघ २४ गते देशब्यापी शैक्षिक शैक्षिक संस्था बन्द गरिएको थियो।


















