नागरिकता बनाउन दुई महिनापछि पालो

104

कपिलवस्तु । नागरिकता बनाउने सेवाग्राहीको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने खालका नागरिकता परिचयपत्रको सिस्टमले नलिएपछि प्रतिलिपि बनाउने चाप बढेको हो ।

“एक पटकमा आठ सयजना सेवाग्राही नागरिकता बनाउन आउनुहुन्छ हामीसँग दैनिक ५० जनालाई बाड्न सक्ने क्षमता छ ।” कार्यालय प्रमुख नारायण पाण्डेले बताउनुभयो । कार्यालयमा सेवाग्राहीको भीड भएपछि भाद्र १३ गतेदेखि टोकन प्रणाली लागु गरिएको छ ।

नयाँ बनाउनलाई खासै समस्या छैन तर प्रतिलिपि बनाउनलाई ठूलो चाप रहेको छ । टोकन लागु गर्नु अघिका सात सय र टोकन लागु गरेदेखि एक हजारभन्दा बढीको नागरिकता बनाउने चाप रहेको बताइएको छ ।

सूचना अधिकृत हिमलाल विश्वकर्माका अनुसार नागरिकता लिने व्यक्तिको अत्यधिक चापले सेवाग्राहीलाई धेरै समय लाग्ने गरेको बताउनुभयो । दसैँ र तिहारमा बिदा धेरै भएको कारणले नागरिकता लिन लामो समय कुर्नुपर्ने बाध्यता रहेको छ ।

नागरिकता लिन कार्तिक १६ गतेसम्मको टोकन वितरण भएको विश्वकर्माले बताउनुभयो । तर विदेश जाने, अपाङ्गता भएका, वृद्ध, अशक्त, जटिल समस्या भएका नागरिकलाई भने समयमा नागरिकता उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

एघार जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा एक जना रिक्त र एक जना बिरामी भएकाले बिदामा रहेका छन् । भीड भएपछि प्रमुखका सुरक्षा गार्ड र कार्यालय सहयोगी समेत नागरिकता बनाउने काममा खटिएका छन् ।  गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here