बिमल योगी
दाङ / दाङको पक्वैका महिलाहरुले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । एफ.वान. साना किशान कृषक समुह गठन गरी च्याउ खेती थालेका उनिहरुले पछिल्लो ६ महिनामा च्याउ खेतीबाट एक लाख ४० हजार रुपैया आम्दानी गर्न सफल भएका हुन ।
पहिलो चरणमा दुई वटा टहराबाट च्याउखेती थालेका उनिहरुले ९ सय किलो च्याउ बिक्री गरेको समुहका सचिव मनकुमारी चौधरीले जानकारी दिनुभयो । पहिलो पटक एक सय ५० पोका च्याउ खेती गरेकोमा चार सय किलो र दोश्रो पटक चार सय पोका च्याउ खेती गरेकोमा पाँच सय किलो बिक्री गरेको उहाको भनाई छ ।
पक्वैका २४ घरधुरी मिलेर थालिएको च्याउ खती फस्टाउदै गएपछि अहिले ५ वटा टहरा निर्माण गरी एक हजार चार सय वटा पोकामा च्याउ राखिएको र दैनिक १५।२० किलो च्याउ बिक्री भैरहेको समुहका अध्यक्ष कुमारी चौधरीले जानकारी दिनुभयो ।
कृषी बिकास मन्त्रालय अन्तरगत रहेको साना तथा मझौला कृषक आयस्तरबृद्धि परियोजना रिजमको तीन लाख ४४ हजार पाँच सय ४८ रुपैया र समुहको एक लाख ९३ हजार सात सय ३७ रुपैया गरी पाँच लाख ३८ हजार दुई सय ८५ रुपैयामा च्याउ खेती गरिएको हो । यसैविच एफ.वान.साना किशान कृषक समुहले अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । समुहका अध्यक्ष कुमारी चौधरीको अध्यक्षता तथा रिजमका कार्यक्रम अधिकृत हरि शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै समुहका सदस्य शर्मिला चौधरीले च्याउ खेतीबाट दैनिक घरखर्च चलाउन सजिलो भएको बताउनुभयो । यसअघि खेर गैरहेको समयको सदुपयोगसंगै च्याउ बिक्रीबाट आएको रकमले घर खर्च चलाउन निकै सजिलो भएको उहाको भनाई थियो । समुहका उपाध्यक्ष वसन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनवाई कार्यक्रममा रिझमका कार्यक्रम अधिकृत हरि शर्माले जिल्लाका ५ वटा समुह र संस्थामा २५ लाख बढिको लगानी गरिरहेको जानकारी दिनुभयो ।
घोराहीको पक्वै र लखवार,तुल्सीपुर उप महानगरपालिका १८ हेमन्तपुर र वडा नम्वर ४ रक्षाचौर तथा गढवा गाउपालिका वडा नम्वर १ धानखोलामा स्थानिय समुह तथा संस्थालाई च्याउखेतीका लागि घीन लाखदेखी १० लाख सम्म अनुदान दिइएको उहाँको भनाई छ । सो अवसरमा घोराही उप महानगरपालिका वडा नम्वर ६ का सदस्य कुन्ता सिजवाल,नेपाल पत्रकार महासंघका प्रदेश पार्षद विमल योगी,उद्योग बाणिज्य संघका प्रतिनिधि श्रीराम चौधरी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

















