अख्तियारलाई भ्रष्टाचारीको अखडा बनाउने पाठकबारे संसदमा बहस

72

काठमाडौं / प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले राजनारायण पाठक संवैधानिक निकाय अख्तियारलाई भ्रष्टाचारीको अखडा बनाउने पाठकविरुद्ध कारवाही माग गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको हाे ।

नेकपा सांसद अमृता थापाले संसदमा भनिन, ‘संविधानले संवैधानिक पदमा पदस्थापन हुने व्यक्तिलाई नैतिकवान हुन्छ भन्ने परिकल्पना गरेको छ। तर यहाँ जसलाई जे संवैधानिक अधिकार जिम्मेवारी दिइन्छ उही व्यक्तिले भ्रष्टाचारको अखडाको रुपमा आफ्नो संस्थालाई बदल्छ भने के हामी रमिते बनिरहन सक्छौं ?’

अख्तियार दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याउने संस्थाको अख्तियारी पाएका व्यक्तिले नै अख्तियार दुरुपयोग गरेपछि सर्वसाधारणले कहाँबाट न्यायको आशा राख्ने भन्दै उनले भनिन्, ‘राजीनामा दिँदैमा त्यस्ता व्यक्तिहरुले छुट दिने हो भने कसरी पूरा हुनसक्ला सम्वृद्ध नेपालको सपना ?’

पाठकमाथि कारवाही गर्ने विषयमा राष्ट्रिय सहमति बन्नुपर्ने उनको धारणा थियो। हिजो राजतन्त्रविरुद्ध लडेका राजनीतिक दलहरुका लागि आजको मुख्य चुनौती भ्रष्टाचार भएको सांसद थापाको भनाइ थियो। ‘दलहरुका अगाडि प्रमुख प्रतिपक्षको रुपमा भ्रष्टाचार खडा छ। यस्ता (पाठक प्रकरण) अपराधिक क्रियाकलाप रोक्न राष्ट्रिय सहमति बन्न सकोस्’, उनले भनिन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेकपा सांसद गणेशकुमार पहाडीले भ्रष्टाचार नियन्त्रण गर्ने निकायमै बसेर पाठकले घूस लिएको विषय गम्भीर भएको उल्लेख गरे। ‘भ्रष्टाचार नियन्त्रणका लागि बनेको आयोगका जिम्मेवार व्यक्तिबाटै अख्तियार दुरुपयोग गरी भ्रष्टाचार हुनु गम्भीर विषय हो। यस विषयमा के भएको कानुन बमोजिम तत्काल निष्कर्षमा पुग्न ध्यान आकर्षण गराउँछु’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here