काठमाडौं / चिनियाँ नव वर्ष सुँगुर वर्ष प्रवेश तथा बसन्त उत्सवको अवसरमा काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम तथा उत्सव समारोह सम्पन्न भएको छ ।
काठमाडौं दरवारमार्ग्स्थित होटल याक एण्ड यतिमा मंगलबार आयोजना गरिएको सो उत्सव कार्यक्रममा सभामुख कृष्ण बहादुर महरा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानसेनापति पूर्ण चन्द्र थापा, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ,पूर्वमन्त्री चित्रलेखा यादव लगायतका उच्च नेता तथा उच्च पदस्थ सरकारी कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका विशिष्ट अधिकारीहरुका साथै काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका चिनियाँ नागरिकहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख कृष्ण बहादुर महराले नेपाल र चीनबीचको सम्बन्ध शताब्दीऔँ पुरानो रहेको उल्लेख गर्नुभयो । महराले आपसी सम्मान, सद्भाव र भातृत्वमा आधारित दुई देशबीचको सम्बन्ध अद्वितीय तथा बहुआयामिक रहेको भन्दै नेपालको चाहना यो सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउनु पर्नेमा जोड दिनुभयो । आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन दुई पक्षबीचको सहकार्यलाई व्यापक बनाउन चीनमा नेपालको तर्फबाट उच्चस्तरीय भ्रमणहरु भैरहेको जानकारी दिनुभयो ।
नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले चिनियाँ सुँगुर बर्षको अवसरमा उपस्थित समस्त महानुभावहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै राजदूत होउ यान्छीले चीन विश्व स्वतन्त्र व्यापार र अन्तरसम्वन्धको पक्षमा रहेको भन्दै नयाँ विकास परिकल्पनाको निर्माण, बहुपक्षीय हितमा जोड, सामाजिक न्यायमा प्रवर्द्धन जस्ता विषयलाई उच्च प्राथमिकतामा राखेको जनाउनुभयो । नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद स्थापना भए यता दुवै देशबीचमा साँस्कृतिक तथा शैक्षिक क्षेत्रमा आदान प्रदानको काम अगाडी बढेको भन्दै राजदूत होउ यान्छीले नेपाली पर्यटन व्यवसायीहरुका लागि उत्कृष्ट आगमनस्थल भएको धारणा राख्नुभयो ।
कार्यक्रमममा बोल्दै नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा.हरिशचन्द्र शाहले चीनमा यो नयाँ वर्षको महत्व नेपालको बडादशैं जस्तै भएको जानकारी गराउनुभयो । अध्यक्ष शाहले आउँदा बर्षहरुमा नेपाल चीन मैत्रीको प्रवर्द्धनका लागि अन्य कार्यक्रमहरुको समेत आयोजना गर्ने जानकारी पनि गराउनुभयो ।
समारोहमा काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीहरु र अन्य कलाकारहरुले राष्ट्रिय भावनाले ओतप्रोत हुने नेपाली नृत्य, मैयुर नृत्य, तामाङ्ग सेलो लगायतका विविध साँस्कृतिक कार्यक्रमहरु मार्फत चिनियाँ नव वर्षलाई भव्यताका साथ स्वागत गरेका थिए ।



















