ललितपुर / ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ ।
महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जनाए ।उनका अनुसार महानगरका ५ मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।
कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले जनाए ।प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ ।
उनले भने, ‘अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।’ ‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताए । उनले भने, ‘यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।’


















