नेपालमा सहजै पाइने सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ।
भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर विकसित भयो । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ। सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ।
सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ। आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ। सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ।
के–के बनाउन सकिन्छ सजिवनबाट ?
सजिवनबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ। दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ। यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ। नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ। भारतमा सजिवनको ग्रेभी, सुप, सलाद, सम्बार, सजिवन मसला, अचार र दालमा मिसाएर खाने चलन छ।
सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ। पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ। त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ। वास्तवमा सजिवनलाई सब्जीको राजा नै मानिन्छ। सौजुनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ।
सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
हड्डी मजबुत बनाउन भूमिका खेल्छ।
कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।
रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।
छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।
सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ।
सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ।
सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।
सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ।
सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।
सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ।
कलेजो खराब हुनबाट जोगाउँछ।
चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ।
छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ।
सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ।
मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।
शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।
पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्याउँछ।


















