एजेन्सी/एन्जल डी मायिरा चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) कप डे फ्रान्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ३–० गोलले हरायो । पीएसजीलाई घरेलु मैदानमा जित दिलाउन डी मारियाले उत्कृष्ट प्रदर्शन गरेको खेलमा आठौं र २७ औँ मिनेटमा लगातार दुई गोल गरेको खेलमा ७६औँ मिनेटमा थोमस मुनिएरले गोल गर्दै पीएसजीलाई सहज रुपमा जिताए । पीएसजीले यस खेलमा प्रभावशाली खेलाडी केलियन एमबाप्पे र एडिन्सन काभानीलाई खेलाएको थिएन । अर्का स्टार नेमार भने चोटका कारण आराममा थियो । यस जितसँगै पीएसजी लगातार पाँचौं पटक कप डे फ्रान्सको उपाधि जित्ने अभियानमा छ । फ्रेन्च लिग वानमा पनि उत्तिकै प्रभाव जमाएको पीएसजी उपाधिको नजिक पुगेको छ । लिगको शीर्ष स्थानमा आसिन पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा १७ अंकले अगाडी रहेको छ । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा पनि पीएसजीले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ ।


















