भरतपुर / चितवनको व्यस्त बजार नारायणगढमा ट्राफिक लाइट जडान सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा परीक्षणका लागि ट्राफिक लाइट जडान गर्न सुरु गरिएको हो ।
सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, ‘जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो, शहीदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं । ‘महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको उनले जनाए ।
करीब रु २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहीदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात ट्राफिक व्यवस्थापनमा सहजता हुने जनाए । कहिलेकाहीँ पुल्चोकदेखि शहीदचोक सम्मै ट्राफिक जाम हुने गरेको छ, उनले भने, ‘ट्राफिक जनशक्तिको अभाव अब लाइटले पूरा गर्छ । जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी छ ।’ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।


















