राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थद्वारा श्रद्धाञ्जलि अपर्ण

276

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टुँडिखेलमा पुगि हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन्। उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि शुक्रबार टुडिखेलमा राखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here