५५ करोड लागतमा २ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

218

सरकारले ५५ करोड लागतमा २ मेगावाटको जलविद्युत् आयोजना बनाउनको निम्ति कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाई जलविद्युत्मा लगानी गर्न आग्रह गरेको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेत भखर्रै निर्माणाधिन ‘अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत् आयोजना’ को परिचयात्मक कार्यक्रमका वक्ताले जलविद्युत्मा लगानी गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य ठम्मर विष्टले जलविद्युत्को यथेष्ट सम्भावना रहेको कर्णालीमा प्रयाप्त लगानीको अभाव रहेको बताउँदै विद्युत् उत्पादन गर्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्र सबल बन्न सक्नेमा जोड दिँदै उहाँले लगानी भित्र्याउन प्रदेश सरकारले लगानीकर्तालाई राजश्व छुट दिने नीतिगत निर्णय गरिसकेको जनाउनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अपर पराजुली खोला जलविद्युत् आयोजना प्रदेशको पहिलो खुट्किला भएको औँल्याउँदै आयोजनालाई पूर्णता दिन उद्योगी, व्यवसायीलाई अनुरोध गर्नुभयो । सङ्घका पूर्वअध्यक्ष एवं व्यवसायी विष्णुबहादुर शाहीले उद्योगीका लागि विद्युत् पहिलो आवश्यकता भएकाले यसको उत्पादनमा जोडदिन सुझाउनुभयो ।

रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले विद्युत् प्राधिकरणले उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि परेको गुनासो गर्नुभयो । तेत्तीस केभिए प्रसारण लाइन नहुँदा आयोजना निर्माणमा ढिलाइ भयो, अध्यक्ष मल्लले भन्नुभयो, बजार मूल्य, वित्तीय संस्थाको ब्याजका कारण आयोजना निर्माण केही महङ्गो पर्न गएको छ । उहाँले न्यूनतम रु ५ लाखदेखि अधिकतम रु ५० लाखसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रति कित्ता रु ११५ र चैत्र मसान्तसम्म प्रति कित्ता रु १५० का दरले शेयर लगानीको आह्वान गरेको छ ।

उक्त विद्युत् आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेघा बैंकको ७० प्रतिशत र शेयर सदस्यकोे ३० प्रतिशतगरी करीब रु ५५ करोडको लागतमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताउनुभयो । आयोजनाबाट वार्षिक आम्दानी रु छ करोड ६१ लाख ४५ हजार हुने कम्पनीले जनाएको छ । विद्युत् प्राधिकरणसँग सुक्खा मौसममा प्रति युनिट रु ८।८० र वर्षातको समयमा रु ४।८० का दरले खरीद बिक्रीको सम्झौता गरेको उक्त कम्पनीले विद्युत् उत्पादनका लागि दुई हजार ७०० मिटर कुलो निर्माण गरी एक हजार ४४० मिटर पाइपलाइन तल झार्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here