नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

31

काठमाडौं । नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको जानकारी दिए।

‘त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here