आजकै दिन हो पञ्चायती शासकद्वारा सुखानीमा केपी ओलीका सहयात्री पाँच अगुवा क्रान्तिकारी योद्धाहरुलाई कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएको थियो ।
विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।
सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।
सोही विद्रोहका जगमा नेकपा(माले) नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसदमा दुई तिहाई बहुमत प्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ ।
यस वर्ष नेकपाले ४६ औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्मृति दिवस मनाउन फागुन २१ गते झापा आउने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले जनाए ।
दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्ने सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।
झापा विद्रोहमा पाँचै योद्धाले सुखानीको जङ्गलमा हाँसीहाँसी बलिदान स्वीकारेका थिए । हतकडी र खुट्टामा नेल लगाएर चन्द्रगढीबाट शनिश्चरेसम्म गाडी चढाएर लगिएका उनीहरुलाई त्यहाँबाट पैदलै हिँडाएर झापा र इलामको सिमानामा पर्ने सुखानीको एकान्त जङ्गलमा लहरै उभ्याएर प्रहरीले गोली हानेर हत्या गरेको थियो । सुखानीका पाँच क्रान्तिकारीलाई शहादतको ४३ वर्षपछि २०७२ साल फागुन १९ गते प्रधानमन्त्रीमा सहयोद्धा केपी शर्मा ओली भएका बेला मन्त्रिपरिषद्ले शहीद घोषणा गरेको थियो ।


















