वाटर एटीएमबाट पानी पिउने होइन त ?

67

ललितपुर / नेपालमा पहिलो पटक वाटर एटीएमको सुरुवात गरिएको छ ।  काठमाडौं  उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको सुरुवात  गरिएको हाे ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार नेपालमा पहिलो पटक वाटर एटीएमको सुरुवात गर्दै एटीएमबाट पानी निकालेर पिउनुभएको थियो ।

यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिनुभयो ।

पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाण्डाै उपत्यकाका बीस ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले जनाउनुभयो ।

मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिइ कहीँ कतै चुक्न नदिन बोर्डलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।’

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । यस एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ ।

यस एटीएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here