काठमाडौं / प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
नेकपाका खगराज अधिकारीले बैठकमा पहिलो वक्ताका रूपमा बोल्दै अस्थायी शिक्षकका रूपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने जनाउँदै अस्थायी र राहत शिक्षकको मागलाई सम्बोधन गरिनुपर्ने जनाए ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका बालकृष्ण खाँडले पेशागत हित र सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकमाथि प्रहरीबाट लाठी प्रहार हुँदा सयौंको सङ्ख्यामा शिक्षक घाइते भएको जनाउँदै उक्त घटनाप्रति विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षकमाथि भएको प्रहरी दमन निन्दनीय छ, म सरकारलाई चेतावनी दिन चाहन्छु, यस्ता घटना पुनः दोहोरिन नदिनुस्, उनीहरुसँग वार्ता गरेर समस्यालाई सम्बोधन गरियोस् ।’
सांसद महेन्द्र राय यादवले लोकतन्त्रको मूल्य र मान्यताविपरीत शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकमाथि भएको प्रहरी दमनको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले घाइते शिक्षकको उपचार खर्च उपलब्ध गराओस्, प्रवेशिका परीक्षाको मुखमा ३८ हजार शिक्षक आन्दोलनमा रहँदा विद्यार्थीको पढाइ चौपट भएको छ, यस अवस्थालाई छिटो समाधान गर्न सरकारले आन्दोलनकारीको मागलाई सम्बोधन गरोस् ।’


















