दशरथ रंगशाला तीन महिना भित्र पुनर्निर्माण हुने

304

काठमाडौं / दशरथ रंगशालाको पुनर्निर्माण सुस्त गतिमा अगाडि बढि रहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चिनियाँ कम्पनी सीसीआरसीलाई निर्माणको जिम्मा दिएपछि गति लिएको हो । चिनियाँ कम्पनीले मैदानको ट्रयाक, साउन्ड सिस्टम, लाइट बनाउने जिम्मा लिएसँगै रंगशालाले चाँडै मूर्त रुप पाउने भएको छ । मार्च २ देखि निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी सीसीआरसीले अहिले ट्रयाकको रबर निकाल्ने र ढल बनाउने काम गरिरहेको छ । ३५–४० जना कामदार रंगशालाको ट्रयाक निर्माणमा जुटेका छन् । राखेपका सदस्यसचिव केशवकुमार बिष्टले आउँदो जेठभित्र चिनियाँ कम्पनीले निर्माण सकाएर हस्तान्तरण गर्ने जानकारी दिनु भयो । उनले भने, ‘अवधि चार महिनाको हो, तर वर्षायाम सुरु भएपछि ट्रयाक बनाउन नमिल्ने हुनाले जेठभित्रै सक्ने उहाँहरुको लक्ष्य छ ।’


राष्ट्रिय खेलकुद परिषद्ले भीआईपी प्याराफिटको रेट्रोफिटिङको काम सकेर ढलान पनि अन्तिम चरणमा पुर्‍याएपछि चिनिया कम्पनीलाई मैदानको काम गर्न जिम्मा दिएको थियो । सो कम्पनीले स्कोर बोर्डको निर्माण भने लगभग सकेको छ ।

नेपालले आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना गर्दा पनि चिनियाँ कम्पनीले नै रंगशालाको पुननिर्माण गरेको थियो । पुननिर्माणपछि नेपालले भब्यताका सात दशरथ रंगशालामा साग खेलकुदको आयोजना गर्‍यो । राखेपले भिआईपी प्याराफिटको आरसीसी छाना भत्काएको छ भने अब त्यसको बदलामा त्यहाँ अर्कै स्टिलको छाना लगाउने तरखर गर्दै छ । हाल भीआईपीतर्फको ब्लक निर्माण भइरहेको छ । भीआईपी प्याराफिट गिरी कन्ट्रक्सनले निर्माण गरिरहेको छ । यसमा छाना लगाउने कार्य भने सीसीआरसीले मैदानको ट्रयाक, लाइट र स्कोर बोर्ड बनाइसकेपछि हुनेछ ।

यसबारे सदस्यसचिव विष्टले भनेर्, अन्य देशको मोडलमा छाना हाल्ने भनेर हामीले काम अघि बढाएका छौं ।’ रंगशाला पुनर्निर्माण सुरु भएको पाँच वर्ष वितिसकेको छ । १३ औं साग खेलकुदकै लागि लक्ष्य बनाएर पुनर्निर्माण थालिएको पनि करिब एक वर्ष पूरा भयो ।

२०७० सालदेखि नै यो रंगशालाको पुनर्निर्माण थालिएको थियो । त्यसबेला राखेपका सदस्यसचिव युवराज लामाले रंगशालाको साधारण प्यराफिटको रेट्रो फिटिङ, कुर्सी हाल्ने र छाना हाल्नका लागि करिब ११ करोड बजेट विनियोजन गरेका थिए । २०७२ सालमा आएको विनाशकारी भूकम्पले रंगशाला भत्काएपछि सिगै नयाँ संरचना निर्माण गर्नुपर्ने भयो । अहिले अन्तिम चरणमा भनिए पनि भीआईपी प्याराफिटको छाना हाल्ने, दुबै प्याराफिटतर्फ कुर्सी राख्ने काम बाँकी नै छ । रंगशाला असार मसान्तसम्म पूर्णरुपमा निर्माण हुने भएकोले अब तोकिएकै मितिमा साग खेलकुद हुने राखेपको दाबी छ । सदस्यसचिव विष्ट भन्छन्, ‘अब १३ औं साग सर्दैन । रंगशाला निर्माण भइसक्छ ।’

यो रंगशालामा खेलकुदका गतिविधि ठप्प जस्तै भएको करिब पाँच वर्ष भइसक्यो । मिति तोकिसकिएका प्रतियोगिता पनि यही रंगशालाको कारण सर्दै गएका छन् । २०१८ मै आयोजना गर्ने भनेर १३औं सागको जिम्मा लिएको नेपालले भौतिक संरचना निर्माण नहुँदा दुई पटक सारिसकेको छ ।
अन्य देशमा अन्तर्राष्ट्रियस्तरका थुप्रै रंगशाला हुने गर्छन् । नेपालमा भने भएको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला यही नै हो । करिब १८ देखि २० हजारको दर्शक क्षमता भएको यो रंगशालाको क्षमता अब पुननिर्माणपछि केही घट्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here