काठमाडौं / पृथकधारको राजनीति गर्दै आएका सिके राउत मूलधारको राजनीतिमा प्रवेश गरेका छन् । स्वतन्त्र मधेश आन्दोलन परित्याग गरेका नेता सिके राउतले सरकार र आफ्नो स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति ऐतिहासिक भएको जनाएका छन् ।
राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले सो कुरा जनाएका हुन् । नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको हो ।
राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार गर्दै आफूलाई राजनीतिक स्पेश प्रदान गरेको जनाउँदै राउतले भने, ‘जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जनताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु ।’
‘हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ । वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ । सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’


















