धादिङ / गजुरी गाउँपालिका १ गजुरी बजारस्थित सडकमा ना.५ ख २८१२ नम्बरको बसबाट अबैध लागूऔषध चरेश करिब १ सय ५ केजी फेला पारी चालक पर्सा वीरगंज महानगरपालिका पानीटंकी बस्ने ४५ वर्षीय लालबहादुर तामाङसमेत ३ जनालाई आज आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको उक्त बसमा जाँच गर्ने क्रममा बसको पछाडी सिटको माथि प्लाष्टिकमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
बर्दिया, मधुवन नगरपालिका ८ गाँउ नम्बर ५ बस्ने २४ वर्षीय प्रमोद बिक र १६ वर्षीय प्रभात कार्कीलाई करिब ३ सय ५० मिलिग्राम लागूऔषध ब्राउन सुगर, नगद १ हजार ६ सय ८४ नेपाली रुपैयाँ र ३ हजार ३ सय ३० भारतीय रुपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले प्रमोद बिकको घरबाट लागूऔषध बिक्री बितरण गरिरहेको अवस्थामा दुबै जनालाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















