बिपेन्द्र महर्जन (इतिहासबिद् तथा संस्कृतबिद्)
एउटा गाउँ थियो । त्यो गाउँको सबैजसो मानिस खेति किसानी गर्दथे । त्यहाँ एकजना साहु पनि बस्दथे । त्यहाँका गाउँलेहरूले साहुलाई महाजन भन्दथे । महाजनको धेरै खेतवारी थिए । किसानहरूले उब्जनी गरेका सबै गेरा–गुरी अन्न उनै साहुलाई नै बेचबिचन गर्नुपथ्र्यो । रितिथिति पर्व चलाउँदा खर्च नभएमा वा नभएकाहरू उनै साहुसित सापटि लिने गर्दथे । महाजनको परिवार ठूलो थिएन जहानमा स्वास्नी एक र काजी नामको एक्लो छोरा थिए तर नोकचाकर भने धेरै थिए । सबै काम नोकर चाकरहरूबाटैै हुन्थे । काजी आफ्नो मातापिताबाट हौसला र नोकर चाकरहरूको धेरै स्याहार सुसार पाएर घमण्डी र एकोहोरो स्वभावका थिए । गाउँलेहरूलाई मान्छे नै गन्दैन थिए ।
महाजन धर्मकर्म गर्दथे । पण्डित ब्राम्हणहरू बोलाई धार्मिक कथा सुन्ने र गाउँलेहरूलाई पनि सुनाउँथे । मन्दिर निर्माण गरी देउताहरूको मूर्ति स्थापना गर्न, पूजापाठ र पर्व चलाउन, गाउँलेहरूलाई प्रोत्साहन दिनु हुन्थ्यो । उनले घरको पुरेत कार्य गर्ने ब्राम्हणलाई ब्राम्हण नै मानेका थिए । महाजनका पुरेत ब्राम्हण धार्मिक कथाहरू भन्न सिपालु थिए । त्यसैले महाजनको परिवारले पुरेत ब्राम्हणलाई पनि पण्डित नै भन्ने गर्दथे । पुरेत पण्डितको राय सल्लाह अनुसार अरू गाउँका पण्डितहरूलाई पनि समय–समयमा निम्तो पठाई भोजन गराउनुका साथै दान दक्षिणा चढाउनु हुन्थ्यो । यसरी पण्डितहरूप्रति श्रद्धा र भक्ति राख्ने भएको हुँदा ब्राम्हणहरूद्वारा ती महाजनलाई धर्मात्मा भनी बोलाउन थाले । यसरी बोलाउने गर्दागर्दै ती महाजनको नाउँ नै पछि गएर धर्मात्मा हुन गयो ।
धर्मात्मा धर्मकर्ममा खुब विश्वास गर्दथे । पुरेत पण्डितहरू देउताको दूत हुन् भन्ने कुरामा धर्मात्मालाई विश्वास थियो । त्यसैले धर्मात्माहरू मरेपछि स्वर्गमा जन्म लिन्छ र पापीहरू नर्कमा कष्टमय जीवन बिताउनु पर्छ भन्ने कुरामा त्यो गाउँका सबैमा विश्वास रहेको थियो । उनको परिवारमा पनि यस्तै विश्वास थियो । समय बित्दै गयो काजी जवान हुँदै आयो । महाजनको वैंश ढल्दै गयो, शरीर कमजोर हुँदै रोगको शिकार बन्यो । पण्डित तथा पुरेतहरूद्वारा सुस्वास्थ्यको लागि अनेक देउताहरूमा पूजा चढायो । तर आखिर केही लागेन र अन्त्यमा धर्मात्माको मुत्यु भयो ।
मृत्यु संस्कार अनुसार गर्नुपर्ने सबै प्रकारका रितीथिति, पूजापाठ ती पुरेत ब्राम्हणद्वारा गराउनमा कुनै कसर राखेन । महाजनको परिवारमा आफ्नो कुरामा विश्वास देखेर पुरेत पण्डित पनि ज्यादै खुसी भएका थिए । आमा र छोरा दुवैलाई आशीर्वाद दिदैं पुरेत पण्डित भन्दै थिए– “धर्मात्मा साँच्चै धर्मात्मा नै रहेछ उहाँको जन्म स्वर्गमा हुन्छ । तपाईं साहुनी र छोरा काजी दुवैद्वारा स्वच्छ दिलले दिएको दान र दक्षिणा सबै धर्मात्माले स्वर्गमा भोग चलन गर्नु हुनेछ । तपाईं जजमानको जय होस् ।” भन्दै आकाशतिर हेर्दै आँखा चिम्ली, दुई हात जोडी दण्डवत गर्दथे ।
समय–समयमा पुरेत पण्डित काजीको घरमा आई काजि र उनको विधवा आमालाई सान्त्वना र हौसला दिनु हुन्थ्यो । स्वर्गीय पिता धर्मात्माले पुरेत ब्राम्हणलाई पण्डित बाजे भन्ने गरेकाले काजीले पनि पुरेतलाई पण्डितबाजे भनेर सम्बोधन गर्थे ।
एकदिन पण्डित बाजे अति प्रसन्न मुद्रामा काजीको आमाकहाँ आई भन्नु भो– “तिम्रो लोग्ने साँच्चैको धर्मात्मा रहेछ आज मैले सपनामा धर्मात्मा साहु स्वर्गका अप्सरा परिहरूसँग बगैंचामा राम्रा–राम्रा लुगा र चिटिक्क परेका घोडामा चढी हाँसी–हाँसी घुमिरहेको देखे ।” तर, के भन्नु खोइ, परिहरूसँग घुमफिर गरिरहेको त्यत्रो नाम चलेको महाजन राती सुत्न जाँदा पाटीमा सुतिरहेको दृश्य देख्दा कसलाई पो चिन्ता नलाग्ला ? पण्डित बाजेको मुखबाट आफ्नो पिताको दुःखपूर्ण दृश्यको बयान सुन्नु पर्दा आमासँगै बसिरहेको छोरा काजीले मुख खोल्दै– “अहो ! त्यो भएन पण्डित बाजे अब त्यसो भए के गरूँ ?” “आमा ! बुबाको त्यस्तो हालतमा हामी राम्रो घरमा बस्न सुहाउँदैन । बुबाको निम्ति यो घर पनि पण्डित बाजेलाई दान दिउँ ताकि स्वर्गमा पिता यो घरको आफ्नै कोठामा आरामसित सुत्न पाउन् ।”
काजीको आफ्नो पिताप्रतिको श्रद्धाको कुरा सुन्न पाउँदा आमालाई सा¥है नै हर्ष जाग्यो । विशेष पूजा पाठको आयोजना गरी आफूहरू बसेको नयाँ घर पण्डित बाजेलाई दान चढाउनु भयो । आफूहरू पुरानो घरमा स¥यो ।
यसरी धन, सम्पत्ति आदि पुरेत ब्राम्हणलाई दान दिदैं गएर आफ्नो हैसियत कम हुँदै गए । यसरी आर्थिक रूपमा कमजोर हुँदै गयो । धर्मात्माकी श्रीमती र छोराले अब नोकर चाकरहरूलाई पहिल्य झैं काम लगाउन नसक्ने भयो । काजीलाई गाउँलेहरूबाट सम्मानको बदला अपमान, निन्दा, चर्चा गर्न थाले । गाउँमा काजीको कुराप्रति गाउँलेहरूको विश्वास घट्दै गयो । आमालाई खुशी पार्न काजी यताउता जान थाल्यो । आखिर गाउँका मूर्ख भन्नेहरूसँग काजीको संगत हुन गयो ।
आमाको उमेर ढल्किदै गयो । काजी आफ्नो बाँकी खेतवारीमा किसानी गर्न थाले । काजी खेतीवालीको काम गर्दै जाँदा गरिब किसानीका छोराहरूसँग संगत बढ्दै गए । उनको मान मर्यादा अभिमान घट्दै गए । पण्डित बाजे अब काजीको घरमा आउन छाडे श्राद्धको खबर पाउँदा मात्र आउन थाले ।
पण्डित बाजेको इज्जत अब गाउँमा दिन परदिन बढ्न थाले । काम खोज्दै आउनेहरूलाई पण्डित बाजे काममा लगाउन सक्ने भए । पर–परका मानिसहरू पनि पण्डित बाजेको धर्म कथा सुन्न र जन्म–मृत्यु संस्कार बारे थाहा पाउन पण्डित बाजेको घरमा घुइँचो लाग्न थाले । पण्डित बाजेको कुरामा विश्वास नगर्नेहरू सब मूर्ख कहलिन थाले ।
पण्डित बाजेको कुरामा विश्वास नगर्नेहरू पनि त्यो गाउँमा थिए । तिनीहरूलाई पण्डितबाजेका चेलाहरूले महामूर्ख भनी भन्दथे । काजीको संगत तिनीहरूसँग पनि हुन गयो । काजीलाई पनि अब गाउँलेहरूले मूर्ख भन्न थाले ।
एकाबिहानै काजी पण्डित बाजेलाई दान दिएको आफ्नो नयाँ घरमा आए । काजी “पण्डित बाजे” भन्दै माथि उक्ले । पण्डित बाजे बैठक कोठामा बसिरहेका थिए । चाँदिको हुक्काबाट तमाखु तान्दै जजमानहरूलाई शुभसाइतको दिन तोक्दै पूजा गर्न बताइरहेका थिए । काजी आएको देखे पनि कुनै चाँसो नराखी अन्तै ध्यान दिइरहे ।
पण्डित बाजेको अगाडि काजी उभिरहे । धेरैबेर पछि काजीले फेरी “पण्डित बाजे” भनी सम्बोधन गर्दै बोलाए । पण्डित बाजे बिस्तारै काजीतिर हेरे– “ए काजी तिमि किन आएका ? के भो ? तिम्रो बुबा धर्मात्माको श्राद्ध गर्ने महिना त यो होइन, किन आएको ?” भनी पण्डित बाजेले सोध्यो ।
काजी– “खोई पण्डित बाजे के भनु, आज राती सपनामा मेरो बुबा हजुरको जजमान, धर्मात्मा स्वर्गमा सबै कुराले सम्पन्न रही जीवन बिताइरहेको देखें । तर, एक कुराले उहाँ अति दुःखकष्ट पाई छट्पटि रहेको देखे । ‘के भो बुबा’ भनी सोधें, “के हुनु छोरा पेट फुल्ने जलग्रह रोगले दुःख दिइरहेको छ ।” विस्तारै विस्तारै म तिर हेर्दै आइया–आइया कराउँदै सुनाउनु भयो पेट दुख्ने त्यो रोग निको पार्न मेलै के गरौं भनी सोद्धा बुबाले भन्नु भयो– “त्यो कुरा तिमीलाई थाहा नै भएको हो भनी बुबाले सबै कुरा मलाई भन्नुभयो भन्दै खल्तिबाट धारिलो चक्कु निकाले । पण्डित बाजेलाई अनुरोध गर्दै भने “पण्डित बाजे तपाईंको पेट चिर्न सजिलो पार्न लुगा फुकाल्न अनुरोध गर्दै उत्तानो पर्नुस् भन्दै पण्डित बाजेसँगै टाँसिन गए ।
“ए के गर्न खोजेको मूर्ख । मूर्खहरूको संगतको फल यस्तै रहेछ ।” पण्डित बाजेले काजीलाई मूर्ख भनी आरोप लगाउँदै गाली गर्दै भन्न थाले । “मेरो पेट चिरेर तिम्रो बुबाको जलग्रह कहाँ निको हुन्छ र ?” मूर्ख भनी गाली गरे ।
काजी– “ए त्यसो भए हामीले तपाईंलाई दान दिएको सारा सम्पत्ति घोडा, महल सबै मेरो मरेका पिताले स्वर्गमा उपभोग गरेको के झूठ हो ? मलाई त विश्वास छ तपाईंको पेट चिरेर अपरेशन गर्दा मेरो बुबाको पेटको जलग्रह निको नहुने प्रश्नै छैन ।” भन्दै पण्डित बाजेसँगै टाँसिन गई चक्कु पण्डित बाजेको भुँडीमा तेस्र्याउँदै भने– “आज पण्डित बाजेको पेट नचिरी ज्यान गए पनि फर्किन्न, मेरो बुबाको जलग्रह निको पार्नै पर्छ” भन्दै जिद्दी कस्न थाले । आफ्नो पेटमा धारिलो छुरा तेर्सिन पुगेपछि पण्डित बाजे तर्सिन थाले । अब काजीले पेट नचिरी नजाने भो भन्ने लाग्यो र नरम स्वरले भन्न थाले– “हेर काजी मेरो भुँडी चिर्दैमा तिम्रो बुबाको जलग्रह निको हुँदैन” भन्दै पण्डित बाजेले काजीलाई साँचो–साँचो कुरा खोलि भन्यो । पण्डित बाजेकहाँ जम्मा भइरहेका सबैले आश्चर्य मानि पण्डितको जालझेल बुझे । काजी– “त्यसो भए तपाईं जालझेलको मान्छे रहेछ । जालझेल गरेर हाम्रो सम्पत्ति लिन पाउँदैन सबै हाम्रो सम्पत्ति फिर्ता देउ नत्र भने यो चक्कुद्वारा नै तपाईं स्वर्ग पुग्नेछ भनी अडान नछोडे पछि पण्डित बाजे हार मानेर आफ्नो गल्ती स्वीकार गरेर दान स्वरूप आफूले लिएको सम्पूर्ण जायजेथा, घरखेत सबै काजीलाई नै कागज गरी फिर्ता गरी दियो ।
काजी आफ्नो घर गई सम्पूर्ण कुरा आमालाई सुनाउँनु भयो र फिर्ता लिएको सम्पत्ति पनि जिम्मा दिए । अब काजी बसेको गाउँमा नयाँ परिवर्तन छायो । पण्डित भनाउँदाका धार्मिक कथामा जनताले विश्वास गर्न छाडे । मृतकहरूको नामबाट श्राद्ध गर्ने चलन पनि त्यागे । बितेका आफ्ना पुख्र्यौली आमाबाबुको सम्झनामा असहाय र असक्तजनहरूको सहयोगमा खर्च गर्ने गरे । सबैले सबैसँग मित्रभाव राखि परस्पर सहयोगको आदान–प्रदान गर्दै सुख र शान्तिपूर्वक उन्नतिमा लाग्न थाले । अब मूर्ख कहलिएकाहरू संगठित भै समभावको चेतना जनागँदै लगे । काजी र उनका मूर्ख साथीहरूको बुद्धिले गर्दा पण्डितहरूद्वारा हुने छलकपट गाउँभरिका मानिसहरूले छर्लङ्ग बुझे । त्यस्तो पण्डित पुरेतहरूको कुरा कसैले पनि विश्वास गर्न छाडे । कोही पण्डित त्यो गाउँबाट भागे त कोही आफ्नो पुरानो स्वांग छाडी त्यही मिलि बसे ।
















