काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालको चाबहिलस्थित घरमा पुगेर प्रहरीले खानतलासी गरेको छ ।
आज बिहीबार बिहान ८ बजेतिर ७ जनाको समूहमा आएका प्रहरीले घर खानतलासी गरेको अभियन्ता नेपालले स्वाभिमानडटकमलाई जानकारी गराएका छन् ।
नेपाल भर्खरै मात्र स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदको बैठकमा ग्रेटर नेपालको धारणा प्रस्तुत गरेर फर्केका थिए । उनले बुधबार एक प्रेस विज्ञप्ती निकालेर भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने जनाएका थिए ।
नेपालका छोरा सुरोत्तमका अनुसार बुबा घरमा नभएको बेला बिहानै सात जनाको प्रहरी टोली आएको र खानतलासी गरेको जानकारी गराए ।
फणीन्द्र नेपालले भने खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै फेसबुकमार्फत विरोध जनाएका छन् । ‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’
सुरोत्तमका अनुसार केही प्रहरीले खानतलासी गरिरहेका बखत थप ६ जना प्रहरी पनि घरभित्र छिर्न खोजेपछि खानतलासी पुर्जी दिन माग गरेका थिए । प्रवेश गर्न नदिने भन्दै प्रतिवाद गरेपछि प्रहरीहरु फर्किएको सुरोत्तमले जनाए ।
अभियन्ता नेपालले पहिल्यै अनुमान लगाइसकेको जनाएका छन् । बिम्स्टेक सम्मेलनताका पनि नेपाललाई घर नजिकैबाट पक्राउ गरी हिरासतमा राखी मुद्वा चलाइएको थियो ।


















