हेटौंडा / दोस्रो संस्करणको शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को फाइनलमा खेलमा डफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डफिन्सले फाइनलमा आयोजकसँग खेल्ने भएको छ । डफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको निर्णउ ट्राइब्रेकरबाट गरिएको हो । खेलको ६० औं मिनेटमा दाफिन्सको तर्फबाट यानिक ओआनाले पहिलो गोल गरेका थिए । थ्रीस्टारका रञ्जन बिष्टले ७० औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए । खेलपश्चात् थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको छु । दाफिन्सले धेरै फाउल खेलेको र आफूहरुले समयमै रेफ्रीलाई सजग नगराएकाले धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुने बताउनु भयो । थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा खेलमा पराजित भएको बताए ।
डफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले खेलाडीले समयमै गोल नगर्दा केही समस्या परेको दावी गरे । उनले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने दावी समेत गरे । प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।

















