साइँली माटो सुहाउँदो फिल्म : धुर्मुस सुन्तली’

225

काठमाडौं / फिल्म ‘पुरानो डुङ्गा’ रिलिजको करीब दुई वर्षपछि निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘साइँली’ आज प्रदर्शन भएको छ । गायक हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर बनेको फिल्मको बिहीवार साँझ राजधानीको जय नेपाल हलमा ग्रान्ड प्रिमियरमा दर्जनौं फिल्मकर्मीहरु उपस्थित थियो । फिल्मका प्रमुख कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईलगायत प्रिमियरमा उपस्थित थियो भने हास्यजोडी कुञ्जना घिमिरे, सिताराम कट्टेल, अभिनेत्री श्वेता खड्का, अभिनेता सरोज खनाल, चर्चित खलनायक सुनिल थापा, बरिष्ठ अभिनेता टिका पहारी, अभिनेत्री उपासना सिंह ठकुरी, गायिका इन्दिरा जोशी, बरिष्ठ संगीतकार न्ह्यु ब्रजाचार्य, कलाकार निर्मल शर्मा, रंगकर्मी अनुप बराललगायत सहभागिता जनाएका थिए । फिल्म हेरेपछि सबैले ‘क्याप्टेन’ गर्ल उपासनाले फिल्म उत्कृष्ट लागेको बताइन् । ‘सबै कलाकारहरुले आफ्नो चरित्रलाई न्यायपूर्वक निभाउनुभएको छ । निर्देशक रामबाबु दाईको काम एकदमै राम्रो लाग्यो । फिल्ममा धेरै इमोसन पार्टहरु देखाएकाले इमोसनल भएको भएँ ।’ उनी चाँडै निर्देशक गुरुङसँग फिल्म ‘कबड्डी ३’ गर्दैछिन् ।

फिल्म हेरेपछि हास्यकलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आँखाबाट आँसु ओभाइसकेका थिएनन् । ‘म इमोसनल पनि भएँ । हाँसे पनि । यसको मतलब फिल्ममा सबै कुरा मिश्रित छ । यो फिल्म एकदमै हेर्नुपर्ने खालको छ । केही समयदेखि राम्रो फिल्म हेर्न दर्शकहरु कुरिरहनु भएको थियो, ‘साइँली’ ले त्यो इच्छा पूरा गर्छ’, उनले भनिन् । सिताराम (धुर्मुस) ले पनि फिल्म उत्कृष्ट बनेको बताए ।

‘फिल्मले देशको परिस्थितिलाई प्रस्तुत गरिएको छ । माटो सुहाउँदिलो नेपालीपन र देशभित्रको पीडा अर्थात् गरिबीका कारणले विदेशिनु पर्ने बाध्यता देखाइएको छ’, उनले अगाडि भने ‘कलाकारहरुको अभिनय असाध्धै राम्रो छ । निर्देशक रामबाबु गुरुङले निर्देशकिय क्षमता राम्रोसँग प्रस्तुत गर्नुभएको छ । धेरैपछि एउटा राम्रो फिल्म हेर्न पाइयो ।’ दया, गौरव र मेनुका भने फिल्मकर्मीको प्रतिक्रियाबाट प्रफुलित देखिन्थे ।  यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्मबाट केनिपा सिंहले डेब्यू गरेकी छन् । फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको छ । कथा निर्देशक गुरुङकै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here