थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता

213

एजेन्सी / थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गर्नु भएको छ । भ्रष्टाचारको अभियोग लागेकाले उहाँलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कार्यालयद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्रदान गर्नुभएको शाही मानवदवी फिर्ता लिन शाही निर्देशन जारी गर्नुभएको छ ।” थाइल्याण्डमा संसदीय निर्वाचन भएको एक हप्ता नसकिँदै राजाले थाक्सिनको मानपदवी खोस्नु भएको हो ।

थाक्सिनलाई सन् २००८ मा प्रधानमन्त्री रहेकै बेला विवादास्पद भ्रष्टाचारको अभियोग लगाई सेनाले नै सत्ताच्यूत गरेको थियो । उहाँ त्यतिबेलादेखि नै विवादास्पद भ्रष्टाचारको अभियोगका कारण स्वेच्छिक निर्वासनमा बस्दै आउनु भएको छ । भ्रष्टाचारको अभियोगमा उहाँलाई अदालतले कम्तीमा दुई वर्ष जेल बस्नु पर्ने फैसला सुनाएको थियो । तर सिनावात्राले भने आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै आउनु भएको छ ।

थाइल्याण्डमा गत आइतबार भएको संसदको निर्वाचनमा थाक्सिनको समर्थन रहेको फिउ थाइ पार्टीले नै सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको छ । सैनिक शासकको समर्थन रहेको पालङ प्रचा रथ पार्टीले भने सबैभन्दा धेरै मत पाएको छ । कूल ५०० स्थान रहेको संसदमा फिउ थाइले सबैभन्दा धेरै अर्थात् १३७ सिटमा विजय हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

थाइल्यान्डको संसदको तल्लो सदनमा तीन सय ५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही वर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले नै सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो । पटक पटक सरेर भएको निर्वाचनको निष्पक्षता र वैधानिकता माथि भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दाबी गरेका छन् । उनीहरुले देशव्यापी रूपमा मतदाताहरुलाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् । विवादका बीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् । सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो । गठबन्धनले चाडै नै सरकार बनाउने प्रयास गर्ने नेताहरुले बताएका छन् । सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here