नयाँ भेरियन्टको प्रवेश नेपालमा भइसक्यो ! सरकार बेखबर छ !

78

–राज्यलक्ष्मी शाक्य

दुई चरणको कोरोना संक्रमणबाट विश्वजगत आक्रान्त भइसकेको छ । दुई चरणमा गरेर लाखौं जनताले ज्यान गुमाएका छन् भने संक्रमणको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा पनि अकल्पनीय क्षति पुगेको छ । होनहार व्यक्तित्वहरुलाई कोरोनाले लगेको छ । अव तेस्रो भेरियन्टले पनि नेपाललाई निशाना बनाएको छ । यसबाट नेपाली जनतालाई सुरक्षित बनाउन सरकारले कुनै योजना बनाएको देखिदैन । साथै सुरक्षाका योजनाहरु सरकारले बनाउने आशा गर्न सकिने अवस्था पनि छैन । बाह्य मुलुकबाट खोप मगाउने बाहेक सरकारसँग अर्को विकल्प देखिएको छैन । तेस्रो भेरियन्टको संक्रमण पहाडी जिल्लाहरुबाट विस्तार शुरु भएको छ । नुवाकोट र स्याङ्जा जस्ता वातावरणीय हिसाबले स्वथकर रहेका  जिल्लाहरुमा समेत तेस्रो भेरियन्ट देखिएको खबर आइसकेको छ । परिक्षणको दायरा फराकिलो बनाउने हो भने देशव्यापी रुपमै तेस्रो भेरियन्टको प्रभाव फेलापर्ने निश्चित छ ।

हाम्रो जीवनकालमा हामीले देख्न पाउने प्यान्डेमिक सायद वर्तमान कोरोना प्यान्डेमिक नै पहिलो र अन्तिम प्यान्डेमिक होस् भन्ने कामना गरौं । तर विकसित देशहरुलाई समेत तड्पाइरहेको कोरोनाले नेपाल जस्ता अल्पविकसित मुलुकहरुमा निकै ठूलो आतंक मच्चाएको छ । प्यान्डेमिक कसैको लागि पनि सुखद कुरा हुन सक्दैन, बरु एक विपदको कुरा हो । विश्वमा आइपर्ने विभिन्न किसिमका प्रलय मध्येको एक हो यो कोरोना प्यान्डेमिक ।

कोरोनाको पूर्वसूचना र रोकथाम मानव क्षमता भित्र पर्दैन । यद्यपि नियन्त्रण र उपचारको कोसिस भने पक्कै पनि गर्न सकिन्छ । यस्तो विपदकालमा शोक र सन्तापमा मात्रै डुबेर हुँदैन । यसलाई धैर्यताका साथ सहन र भोग गर्न सक्नु पर्दछ । त्यति मात्रै नभई विपदको मौकाको फाइदा उठाई यसका विविध पक्षहरुको अध्ययन र अनुसन्धान गर्नु मानवीय गुण हुन सक्दछ । हामी सबैले यस्तो प्रयास गर्नु पर्दछ । सरकारको मात्र भर परियो भने यसको महामारी भयावह हुने निश्चित छ ।

विज्ञहरुले प्यान्डेमिकको इतिहासको कुरा गर्दा हालसम्मकै सबैभन्दा पुरानो प्यान्डेमिक चीनको उत्तरपूर्वी भागमा करिब ५ हजार वर्ष पहिले देखिएको दावी गर्छन । जुन ठाउँ अहिले एक सुन्दर संग्रहालयको रुपमा सुरक्षित राखिएको छ । पुरातत्व र मनावशास्त्र सम्बन्धी अध्ययनहरुले उक्त प्यान्डेमिक कुन रोगले लागेको भन्ने थाहा नभएता पनि त्यो रोग निकै तीव्र गतिमा फैलिई विभिन्न उमेरका असंख्य मानिसलाई प्रभाव परेको थियो र त्यस ठाउँमा फेरि लामो समयसम्म कुनै बस्ती बसेको थिएन ।

त्यसपछि करिब २ हजार ४ सय ५० वर्ष पहिले ग्रिसको एथेन्समा प्लेग रोगको प्यान्डेमिक फैलिएको थियो जुन करिब ५ वर्षसम्म रहेको थियो र यसले करिब एक लाख मानिसको ज्यान लिएको थियो । त्यसपछि निरन्तर प्लेगका कैयौँ महामारी या प्यान्डेमिक विश्वका धेरै ठाउँहरुमा धेरै पटक आए अनि गए । जसले पचासौँ  लाख त्यतिबेलाको करिब १०% जनसंख्याको ज्यान लिएको थियो ।

डा. प्रवीण श्रेष्ठका अनुसार सन् १३४६ तिर प्लेगको अर्को प्यान्डेमिक फैलिएको थियो जुन एसियाबाट युरोपमा फैलिएको थियो । त्यति बेला यति धेरै मानिस मरे कि त्यसलाई कालो मृत्युको संज्ञा दिइएको थियो । त्यतिबेला काम गर्ने मानिसको यति धेरै हाहाकार मच्चियो कि त्यसैले गर्दा विज्ञान र प्रविधिको विकास हुने क्रम सुरु भयो भनेर भनिन्छ । त्यसपछि पनि प्लेगको प्यान्डेमिक अमेरिका र युरोपमा थुप्रै पटक फैलिएपछि एल्लो फिवर, फ्लु आदिको प्यान्डेमिक पनि हुन थाल्यो ।

डा. श्रेष्ठका अनुसार स्प्यानिस फ्लुको नाम त हामी मध्ये धेरैले सुनेकै कुरा हो । प्यान्डेमिकको इतिहासमा पछिल्लो सबैभन्दा ठूलो प्यान्डेमिक यही स्प्यानिस फ्लुको प्यान्डेमिक थियो, जसले ५० करोडभन्दा धेरै, त्यति बेलाको विश्वको एक तिहाई जनसंख्यालाई संक्रमण गरेको थियो र ती मध्ये अमेरिकामा मात्रै करिब ६ लाख ७५ हजार र विश्वमा करिब ५ करोड मानिसको मृत्यु भएको थियो ।

स्प्यानिस फ्लु सन् १९१८ देखि १९२० सम्म पहिलो विश्व युद्धको लगत्तै युरोपमा देखिएको थियो, जसले ५ वर्ष भन्दा मुनिका बालबालिका, बयश्क र बृद्धहरु सबै उमेरका मानिसलाई संक्रमण गरेको थियो । सन् १९१८ मा अमेरिकाको एक सैनिकमा देखापरी युरोप र तुरन्तै विश्वभरि फैलिएको स्प्यानिस फ्लुको कारक एनवान एच वान जीवाणु (भाइरस) द्वारा हुने रुघा या फ्लु थियो । शारीरिक रुपमा तन्दुरुस्त २० देखि ४० उमेरका बयश्कहरुमा पनि कडा संक्रमण भई मृत्यु अत्यधिक हुनु उक्त प्यान्डेमिकको विशेषता थियो ।

स्प्यानिस फ्लु पश्चात अन्य साना साना महामारीहरु पनि विश्वमा धेरै आए जस्तै एसियन फ्लु, एड्स, एनवान एच वान, अफ्रिकन इबोला, जीका आदि जसले त्यति धेरै ठूलो रुप लिन पाएनन् ।

स्मरण रहोस् वर्तमान कोरोना प्यान्डेमिकले हालसम्म करिब साढे अठार करोडलाई संक्रमण गरेको छ भने करिब ४० लाख अर्थात् २.१५% को ज्यान लिएको छ । स्प्यानिस फ्लुभन्दा वर्तमान कोरोना प्यान्डेमिक हालसम्म धेरै कम र सानो देखिएको छ । कल्पना गरौँ कोरोना प्यान्डेमिक पनि स्प्यानिस फ्लु जत्तिकै भयावह भयो भने यो संसार कस्तो हुन्छ होला ? त्यसैको लागि हामी सबैले सावधानी र प्रतिबन्धका आवश्यक कुराहरुको कडाईका साथ पालना गर्नु पर्दछ । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here