कम्युनिष्टको बर्काे र वर्तमान सरकार

412

-निमकान्त पाण्डे

कम्युनिष्ट भन्ने बित्तिकै अधिकांशको मनमा जनताको पक्षमा काम गर्ने विचारधारा हो भन्ने लाग्छ । कम्युनिष्टको उत्पत्ति नै सर्वहारा वर्गको मुक्ति र उत्थानका लागि भएकाले यस्तो लाग्नु स्वभाविक हो । विश्वको उत्कृष्ट विचारधारामध्ये कम्युनिष्ट विचारधारा पनि एक हो ।

संसारमा विशेष गरी दुई वटा वर्ग हुन्छन्, एउटा कम्युनिष्ट अर्थात गरिखाने वर्ग र अर्काे पूँजीवादी अर्थात हुनेखाने वर्ग । हुनेखाने वर्ग आफैमा सक्षम हुन्छ, ऊसँग भौतिक सुख सुविधादेखि शक्तिसम्मको पहुँच पनि हुन्छ । गरिखाने वर्ग सधँै अभावसँग जुधिरहेको हुन्छ र उसका बारेमा बोलि दिने पनि कोही हुँदैन । यही कुरालाई मध्यनजर गर्दै गरिखाने वर्गको प्रतिनिधत्व गर्दै कम्युनिष्ट विचारधाराको प्रार्दुभाव भएको हो । सन १८४८ मा जर्मन दार्शनिक कार्लमाक्र्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र सार्वजनिक गरेसँगै यसको महत्व अझ बढ्न थाल्यो ।

शोभियत संघ, रुस, चीन, क्युवा हुँदै विगत सात दशकदेखि नेपालमा पनि कम्युनिष्टको नाममा सत्ता सञ्चालनका अभ्यास हुँदै आए । धेरै ठाउँमा कम्युनिष्टहरू विस्तारै कमजोर हुँदै गइरहेको अवस्थामा नेपालमा दुई तिहाई बहुमतसहितको कम्युनिष्ट सरकार छ । कम्युनिष्ट भन्दैमा व्यवहारमा लागु हुने भए विश्वबाट कमजोर हुँदै गइरहेको कम्युनिष्ट शक्ति नेपालबाट नयाँ ढंगले उदाउन सक्थ्यो । विडम्बना ! नामको मात्र कम्युनिष्ट सरकार भएकाले आम जनतामा समेत कम्युनिष्ट शब्दबाट घृणा जाग्ने अवस्था सिर्जना हुन थालेको छ ।

कम्युनिष्ट भन्ने वित्तिकै गरिखाने वर्गको नेतृत्व गर्ने शक्ति भन्ने आम बुझाई भएकाले सामन्ती व्यवस्थाबाट गुज्रिदै आएको नेपालमा बहुसंख्यक जनता कम्युनिष्टकै पक्षमा हुनु स्वभाविक थियो र हो । जुन कुरा जनताले कम्युनिष्टहरूलाई मत दिएर पुष्टि पनि गर्दै आएका छन् । सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा नेपालको कुल मतदाता संख्याको बहुमत भन्दा बढी कम्युनिष्टले नै प्राप्त गर्छन् । गत वर्ष भएको निर्वाचनमा जनताले दिएको मतले पनि यो कुरालाई पुष्टि गरेको छ । तर विडम्बना ! चाहे संयुक्त सरकारका बेला होस् वा अहिले जस्तो प्रष्ट बहुमतको सरकार भएका बेला नै किन नहोस् जनताले कम्युनिष्ट सरकारबाट अपेक्षाकृत राहत भने महसुस गर्न सकिरहेका छैनन् । यसको मुख्य कारण कम्युनिष्टको बर्काे ओडेर सत्तामा पुग्ने गैर कम्युनिष्ट चरित्रको नेतृत्व हो भन्न हिच्किचाउनु पर्ने अवस्था छैन ।

बाहिर भन्दा आफूलाई कम्युनिष्ट नै भन्ने तर व्यवहारमा पूँजीवादी र सामन्ती प्रवृत्ति देखाउने नेपालको कम्युनिष्ट नेतृत्वका कारण नेपाली जनतामा कम्युनिष्टप्रतिको विश्वास ह्वात्तै घट्दै गइरहेको छ । अहिले सत्ता र संसदमा कम्युनिष्टको बाहुल्यता भएकाले यस्ता विचार अस्वभाविक लाग्न सक्छन् , तर सत्य के हो भन्ने कुरा २०६४ को निर्वाचनबाट पहिलो दल बनेको तत्कालीन नेकपा माओवादी पछिल्लो चुनावमा अस्तित्वको संकटमा परेबाट पुष्टि हुन्छ । अहिले सत्ता र संसदमा कम्युनिष्ट सरकार नै छ । तर यही ढंगले अघी बढ्ने हो भने आगामी दिनमा कम्युनिष्टप्रतिको नेपाली जनताको विश्वास घटेर जाने निश्चित छ । जनताले बर्को ओढेका कम्युनिष्टका रूपमा वर्तमान सत्तासीन नेताहरूलाई लिन थालेका छन् ।

सत्तामा कम्युनिष्टहरूले राज गरिरहेका छन्, तर सर्वसाधारण जनताले त्यसबाट राहत महसुस गर्ने अवस्था सिर्जना हुन सकिरहेको छैन । बरु महत्वपूर्ण ओहदामा हुनेहरूमा नयाँ राजा बन्ने रहर पलाएको देखिन थालेको छ । यसले एक किसिमको सामन्तवादको अन्त्य गरेका नेपाली जनताले पुन अर्काे किसिमको सामन्तवादलाई स्वीकार गर्नुपर्ने बाध्यता देखिन थालेको छ । त्यो पनि कम्युनिष्ट भेषधारीहरूलाई । यो निकै नै विडम्बनापूर्ण हो । अहिलेको सरकारका गतिविधि हेर्दा बर्काे कम्युनिष्टकै ओडेको देखिन्छ । तर व्यवहार भने सामन्ती र राजाकालीन नै देख्न सकिन्छ । यो मुलुक र जनताका लागि निकै ठूलो दुर्भाग्यको कुरा हो ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here