इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाइनलको पहिलो लेगमा एफसी पोर्टोलाई हराउन सफल भएको छ । आफ्नै मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई २-० गोलअन्तरले हराएको थियो ।
लिभरपुलको जितका लागि नवी केइटा र रोबेर्टो फिरमिन्होले गोल गरका थिए । लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको पाँचौ मिनेटमा नै केइटाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले २६ औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने फिरमिन्होले गोल गरेका थिए ।
पहिलो हाफमा २-० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो दबावलाई कायमै राखेको थियो । तर गोल गर्न भने सकेन । यता, पोर्टोले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो खेलेपनि गोल गर्न भने सकेन ।


















