वनेपा / नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालमा अहिले पानी जहाज चलाउन भन्दा सार्वजानिक यातायातलाई व्यवस्थित गर्न आवश्यक रहेको जनाउनुभएको छ ।
नेपाली कांग्रेस वनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले अहिले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा ठूला ठूला सपना बाड्न लागेको जनाउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली नागरिक अहिले सर्वजानिक यातायातमा सुधार खोजीरहेका छन् । तर प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ ।
सरकारले काम भन्दा बढि गफ गर्न लागेको छ । यो राम्रो होइन ।’ डा कोइरालाले प्रधानमन्त्री केपी ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफु शक्तिशाली बन्ने बाटोको खोजीमा मात्र लागेको जनाउनुभयो । उहाँले भन्नुभयो– ‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजीरहेका छन् ।
तर प्रधानमन्त्री केपी ओली न्यायलय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हात माथि पार्ने बाटोको खोजीमा हुनुहुन्छ ।
महामन्त्री कोइरालाले सरकारका गतिविधी हेर्दा कांग्रेस आफ्नो शक्ति आर्जन गर्न ढिलो गर्न लागेको आफुलाई आभास भएको जनाउनुभयो । उहाँले कांग्रेसले शक्ति आर्जनका लागि पहिले आफूबीचमा एकता गर्नुपर्ने जनाउनुभयो ।


















