गठबन्धनले देशका समस्या समाधान नहुने

50

पोखरा  ।  नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिप्रति देखिएको निराशा आगामी चुनावले पनि नघटाउने बताएका छन् । कुनै दलको एकल बहुमत हुने स्थिति नआउने भएकोले राजनीतिक समस्याको समाधान आगामी चुनावले नदिने उनले बताए ।

‘सरकारमा रहेका गठबन्धन दलबीचको वार्ता जसरी अगाडि बढिरहेको छ, कसैलाई बहुमत नदिने गरी वार्ता गर्नुपर्छ भन्ने एकथरी छन्; बहुमत गर्नैपर्छ भन्ने अर्कोथरि,’ प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो जुन किसिमको अवस्था छ‚ यसले चुनावमा कुनै एउटा दलको बहुमत हुने स्थिति नहुने र एकपछि अर्को सरकार बन्ने, खिचातानी हुने सम्भावना हुन्छ । त्यसले अहिलेको फ्रस्ट्रेसनलाई घटाउने भन्दा फ्रस्टेसनलाई जारी राख्ने सम्भावना बढ्दो छ ।’

गठबन्धनभित्र कांग्रेसले प्रत्यक्षमा कम्तीमा एक सय सिट चाहिन्छ भन्ने र समानुपातिकसहित जोडेर एकल बहुमत ल्याउने उद्देश्य राखेको उनले बताए । ‘कांग्रेस र गैरकम्युनिस्ट दलहरू मिलेर बहुमत आउने सिट पाइयो भने पनि अर्को प्रकारको सरकार बन्छ भन्ने त्यहाँभित्र अर्को हिसाब देखिन्छ । त्यसो भयो भने मंसिरभित्र त्यहाँभित्रका वामपन्थी भनिने दलहरू सडकमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो पनि स्थिति भएन । उनीहरुसँग मिल्ने स्थिति आयो भने सबैभन्दा लार्जेस्ट दल कांग्रेस नै होला प्रधानमन्त्री हुने अनि दुई वर्षभित्र अर्कोलाई दिन्छु भनेर नदिने स्थिति भयो भने के हुन्छ हालत ? त्यो त हुने गरेकै छ नेपालमा । अहिलेको सोलुसन अब हुने चुनावले पनि गर्दैन ।’

विभिन्न परिदृश्यले नै गठबन्धनले देशका समस्या समाधान नहुने देखाएको उनको भनाइ थियो । पार्टी विभाजन र एमालेविरुद्धको गठबन्धन, दुईवटै चुनौतीसँग पार्टीले जुध्दै अगाडि बढ्नुपर्ने अवस्थाको सिर्जना भएको उनले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here