काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्।
‘यो बुढाबुढीको भलो चिताउने सरकार हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसबर्षको बजेटमा बृद्धभत्ता बढ्छ। ढुक्क भए हुन्छ।’
प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताउनु भयो। ‘पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे’, प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन्। बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन्। प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताएका छन् । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने बताए । ‘हामी नेपाललाई केही वर्ष भित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउँदैछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हाम्रो खानपानलाई विषादीरहित बनाउनुपर्छ।’
प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरेका थिए। यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका थिए। उनीहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेकसमेत हस्तान्तरण गरेका थिए।


















