काठमाडौं / नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले सेनाको छवि धुमिल्याउन केही शक्ति सक्रिय भएको धारणा व्यक्त गरेका छन् । प्रधानसेनापति थापाले सेनाबारे विभिन्न कोणबाट भइरहने टिप्पणीलाई संकेत गरेका हुन् वा कसलाई संकेत गरेका हुन् स्पष्ट खुलाइएको छैन । प्रधानसेनापति थापाले आन्तरिक कार्यक्रमलाई सम्बोधान गर्दै सेनालाई आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गरिने जानकारी पनि सार्वजनिक गरेका छन् ।
‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजै शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी पनि दिएका छन्।
‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन’ उनले भनेका छन् । पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्ने भन्दै थापाले सेनाको छवि धुमिल्याउन अझै पनि केही शक्ति सक्रिय रहेको दावी गरेका छन् ।
आर्थिक अनियमिताविरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने भन्दै थापाले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएको प्रशंग उल्लेख गर्दै यस विषयमा सकल दर्जाले हेक्का राख्न आवश्यक भएकोमा जोड दिएका छन् ।


















