माधव नेपालसँगको छलफललाई तीब्रता दिँदै प्रधानमन्त्रीओली

210

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ र शुक्रबार विहान नेकपा बरिष्ठ नेता माधव नेपालसँग लामो छलफल गरे गरेका छन् । नेकपा अध्यक्ष समेत रहेका ओलीले पार्टी एकता टुङ्ग्याउन निर्धारण गरिएको अन्तिम मिति ९ बैशाख आउनै लाग्दा ओलीले नेकपा बरिष्ठ नेता माधव नेपालसँगको वार्तालाई सघन बनाएका छन्।

यसअघि ओलीले नेकपामा रहेका पूर्व एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायतसँग पनि यस्तै कुराकानी गरेका थिए। ७७ मध्ये पूर्व एमालेको भागमा परेको ४५ जिल्लाको नेतृत्व टुङ्ग्याउन ओलीले उपरोक्त नेताहरुसँग छलफल गरेका थिए।

एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको पनि एक बर्ष पुग्न लागिसकेको छ। तर नेताहरुले अहिलेसम्म एकतालाई पूर्णता दिन सकेका छैनन्। दुई पार्टीका विभाग, जनवर्गीय संगठन, आयोगहरुको एकताले पूर्णता पाउन सकेको छैन।

विभाग, जनवर्गीय संगठन, आयोगहरुको एकता गरिँदा नेतृत्व कसले पाउने भन्नेमा पूर्व एमाले र माओवादी केन्द्रबीच समस्या छ भने जिल्ला कमिटीको नेतृत्वका लागि एमालेबीच नै कुरा मिल्न सकेको छैन। र, एकताले पूर्णता नपाउनुको मूल कारण नै यही बनेको छ।

एमालेले पाउने ४५ जिल्ला कमिटीको नेतृत्वमध्ये अधिकांसमा ओलीले आफू पक्षीलाई ल्याउने नेता नेपालको आशंका छ। खासगरी ओली पक्षको पकड रहेको लुम्बिनीमा यसको अभ्यास गरिने संकेत पाएपछि नेपाल पक्ष झस्किन थाल्यो।

त्यसपछि नेपालले जिल्ला नेतृत्वका लागि विधि र मापदण्ड निर्माण गरिनु पर्ने, अन्यथा आफूलाई स्वीकार्य नहुने जनाए ।स्रोतका भनाईमा, विना विधि–मापदण्ड विना नेतृत्व चयन नगरिए आफूले देशभरि समानान्तर जिल्ला कमिटी गठन गर्ने चेतावनी नेपालले दिएका थिए।

त्यसपछि जिल्ला कमिटी गठनको तयारी रोकियो। यद्यपी लामो समयसम्म त्यसले निष्कर्ष पाउन सकेन। २८ चैत्र ०७५ मा चन्द्रागिरि हिल्स रिसोर्टमा भएको ओली–प्रचण्डबीचको वार्तापछि मात्र ९ बैशाख ०७६ मा एकता टुङ्ग्याउने सहमति नेताद्वयबीच भयो।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपा महासचिव विष्णु पौडेललाई सँगै राखेर चन्द्रागिरि हिल्समा भएको वार्तापछि ओलीले एकतालाई पूर्णता दिन पूर्व एमालेभित्र सहमति जुटाउन प्रयास गरे। त्यसैले क्रममा खनाल, गौतम, पोखरेलसँग उनले छलफल गरे।

तर, पछिल्लो समय ओलीले नेता नेपालसँगमात्रै वार्ता केन्दिैत गरेका छन्। त्यसको कारण गौतमले ओलीलाई दिएको सुझाव थियो। गौतमले अरुसँग छलफल गर्नुको औचित्य नरहेको बताउँदै नेता नेपालसँगको छलफलमा केन्द्रित गर्न ओलीलाई सुझाव दिएका थिए।

‘पार्टी (नेकपा) मा मुख्य रुपमा तीन गुट छन्, तपाईं ९ओली० को, प्रचण्डको र माधव नेपालको। पूर्व एमालेमा त तपाईंको र माधवजीको मात्र गुट हो’ गौतमले ओलीलाई भनेका थिए, ‘एकतामा समस्या देखिएको पनि तपाईं र माधव नेपालबीच कुरा नमिलेर हो।’

यति भन्दै उनले खनाल, पोखरेल र आफूसँग कुराकानी गरेर कुनै फाइदा नहुने सुझावपनि ओलीलाई दिएका थिए। ‘हामीसँग कुरा गरेर कुनै फाइदा छैन’ गौतमको भनाई थियो, ‘माधवजीलाई कन्भिन्स गर्नुस्, उहाँ कन्भिन्स भएपछि कुरा मिलिहाल्छ।’

पछिल्लो समय ओली र गौतमबीचको सम्बन्ध पहिलेजस्तो हार्दिक छैन। पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेपछि ओलीले गौतमले गरेको सहयोग भुलेका छन् भने गौतमपनि ओलीसँग चिढिएका छन्। उनको हिमचिम प्रचण्ड र नेता नेपालसँग बढेको नेपाल खबरमा खबर छ ।

तर, गौतम आफूलाई लागेको कुरा प्रष्टसँग बोल्छन् र धेरै स्वार्थ राख्दैनन् भन्ने ओलीलाई राम्रैसँग थाहा छ। त्यसैले, गौतमले दिएको सुझावलाई ओलीले गम्भीरतापूर्वक लिएका छन्। र, उनकै सुझाव अनुसार नेपालसँगको छलफललाई तीब्रता दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here