काठमाडौं / निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई आगामी बैशाख २४ गते दाम्पत्य बाधिने भएको छ । दशकअघि फिल्म ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । लगनगाँठो कस्नुभन्दा अगाडि दुईले आइतबार भव्य समारोहका बीच औँठी साटेका छन् । गत आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा उनीहरुको टिकाटालो भएको हो । इन्गेजमेन्ट समारोहमा दुबै निकै खुसी भएका थिए । प्रज्जवल आइकोर फिल्मस्का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् । यो कम्पनीबाट यस वर्ष दुई फिल्म बन्दैछ ।
विवाहपछि पनि फिल्म निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले जानकारी दिइन् । विवाह लगत्तै उनी फिल्म ‘आई एम ट्वान्टिवानु निर्देशन गर्दैछिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यसमा पनि प्रज्जवलकै लगानी थियो । ‘आई एम ट्वान्टिवान’ मा इन्टु मिन्टु’ बाट सानदार शुरु गरेका धिरज मगरको प्रमुख भूमिका रहनेछ । योसँगै प्रज्जवलले दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को दोस्रो पार्ट पनि निर्माण गर्दैछन् । यसलाई ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने तय भइसकेको छ । दशैंपछि यस फिल्मको छायांकन सुरु गर्ने तयारी छ ।


















