चीनको बेल्ट एण्ड रोड बहिष्कार गर्ने भुटानको निर्णय

228

एजेन्सी- भुटानले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) को दोस्रो सम्मेलन बहिष्कार गर्ने निर्णय गरेको छ। अप्रिलको अन्तिममा चीनको राजधानी सहर बेइजिङमा हुन गइरहेको सम्मेलनमा भुटानले सहभागी नहुने निर्णय गरेको हो।

यस विषयमा भुटानले कुनै विशेष कारण भने दिएको छैन। यसअघि भुटानले सन् २०१७ मा भएको बीआरआई सम्मेलन पनि बहिष्कार गरेको थियो। त्यतिबेला भने भुटानले बीआरआई नयाँ योजना रहेको र चीनले यस विषयमा पर्याप्त सूचना नदिएको जनाएको थियो। उसले यसमा जोडिनका लागि आगामी दिनमा सोचिने पनि जानकारी दिए।

चीनको यो सम्मेलनमा भारतले भाग नलिने निर्णय गरेको तीन दिनमा भुटानले पनि यसमा सहभागी नहुने जनाएको हो। अन्य दक्षिण एसियाली मुलुकहरु बंगलादेश, माल्दिभ्स, पाकिस्तान, नेपाल र श्रीलंकाले यसमा सहभागिता जनाउने निर्णय गरिसकेका छन्।

भारतले भने बीआरआईले अन्तर्राष्ट्रिय मूल्य मान्यता, सुशासन, कानुनी शासन, खुलापन, पारदर्शिता र समानताको पालना नगरेको जनाएको छ। साथै यसले अन्य मुलुकको सार्वभौम सत्ताको पनि पालना नगरेको उसको भनाइ छ।

अहिले भुटानले गरेको निर्णयले भुटानको विदेश नीति नयाँ सरकारको पालामा पनि भारतको अनुसार नै हुने स्पष्ट पारेको छ। भुटानका प्रधानमन्त्री लोटे शेरिङले भुटानको विदेश नीति प्रत्येक पाँच वर्षमा परिवर्तन नहुने जानकारी दिएका छन्।

सन् १९६८ मा भारत र भुटानको बीचमा दौत्य सम्बन्ध कायम भएसँगै भुटानको विदेशनीति भारतले हेर्दै आएको छ। गएको डिसेम्बरमा भुटानका प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमण भारतमा गरेका थिए। भ्रमणको क्रममा भुटानसँग केही महत्वपूर्ण विषयमा द्विपक्षीय सम्झौता भएको थियो।

भुटानको चीनसँग कुनै कूटनीतिक सम्बन्ध छैन। चीन आफ्नो कूटनीतिक सम्बन्ध भुटानसँग विस्तार गर्न चाहन्छ। त्यसका लागि उसले दुई महत्वपूर्ण कूटनीतिक मिसन भुटानको नयाँ सरकारलाई मनाउन पठाइसकेको छ।

यसअघि सन् २०१८ को जुलाईमा चिनियाँ विदेश उपमन्त्रीले भुटानको भ्रमण गरेका थिए। यो भ्रमणमा उनले भुटानको चीनसँगको विवाद साम्य पार्दै भारतसँगको निर्भरता घटाउन जलविद्युत्का योजनामा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here