निर्मला हत्या प्रकरण : जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना

137

महेन्द्रनगर- भीमदत्त नगरपालिका-२ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ९ महिना पुगेको छ। तर अहिलेसम्म पनि उनका हत्यारा पक्राउ पर्न सकेका छैनन्। मंगलबार उनको हत्या भएको ९ महिना पुगेको हो।

निर्मला पन्तको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिले मंगलबार निर्मलाका हत्यारा सार्वजनिक गरेर न्याय दिनुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ। अधिकारकर्मी शारदा चन्दका अनुसार समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिइएको हो।

मंगलबार बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिइएको उनले जानकारी दिइन्। धर्ना पश्चात समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ। प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा ९ महिना बितिसक्दा समेत हत्यारा पक्राउ गर्ने तर्फ सरकारले ध्यान नदिएको भन्दै पुनः चरणबद्ध आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी समेत दिइएको छ।

उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले औल्याएका विषयमा रहेर पुनः सुक्ष्म अनुसन्धान हुनुपर्ने ज्ञापन पत्रमा भनिएको छ । धर्नामा निर्मला पन्तका बुवा यज्ञराज पन्त, कान्छी आमा लक्ष्मीदेवी पन्तसहित अधिकारकर्मीको सहभागिता रहेको थियो।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। निर्मला प्रकरणको अनुसन्धानमा थुप्रै प्रहरीका टोली खटिए पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here