काठमाडौं- धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो नलागेको सरकारले जनाएको छ ।
दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका विषयमा गहृकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मितिबारे एकीन भइनसकेको जानकारी दिए ।
जापानले हाल परीक्षणका रुपमा इन्डोनेसिया र फिलिपिन्समा भाषा परीक्षा सञ्चालन गर्दैछ । त्यसपछि मात्रै नेपालसहित अरु ७ मुलुकमा कामदार आपूर्तिका लागि परीक्षा गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।
‘जापानले आफ्नो प्रक्रिया र मोडालिटी टुंगो लगाएपछि कामदार भर्तिको प्रक्रिया सुरु हुन्छ,’ सचिव दाहालले भने,’अहिले नै यही समयबाट कामदार पठाउन सुरु हुन्छ भनेर हामीले भन्न सक्ने अवस्था छैन ।’
उनले भाषा कक्षा सञ्चालन गर्ने संस्थाहरुमाथि शिक्षा मन्त्रालयले निगरानी बढाएको जनाउ्ँदै हाल कोर्सको विषयमा अस्पष्टता रहेको स्वीकारे । जापानले दुई देशमा परीक्षण स्वरुप भाषा परीक्षा गरेपछि नेपालमा पनि भाषा परीक्षाको कोर्स पठाउने सचिव दहालले जानकारी दिए ।

















