काठमाडौं/ सर्वोच्च अदालतको आदेश अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले आज विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ ।
वैचारिक आस्थाका आधारमा उचित र पर्याप्त प्रमाण बिना हिरासतमा राखिएको भन्दै पत्रकार दबूले माईतीघर मण्डलामा डेढ घण्टा धर्ना दिएको हो ।
कीर्तिपुरबाट प्रकाशित हुने नेपाल भाषाको न्हूगु ज्वजलपा साप्ताहिकका प्रकाशक समेत रहनुभएका महर्जन पत्रकार दबूका काठमाडौं शाखाका सदस्य हुन् ।पत्रकार महर्जनलाई पहिलो पटक गत चैत्र २६ गते दोस्रो पटक बैशाख ८ गते सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरिएको थियो ।
पत्रकार दबूका केन्द्रीय पदाधिकारी, सदस्य, काठमाडौं उपत्यका सदस्यहरुले ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, गैर न्यायिक हिरासतमा राखिएका पत्रकार रिहाई गर’ भन्ने लेखिएको पर्चा देखाएर धर्नामा सहभागी भएका थिए । 


















