फरक तरिकाले लेनिन जयन्ति र नेकपाको स्थापना दिवस

235

-हुकुमबहादुर सिंह
नेपालका कम्युनिस्टहरु (क्रान्तिकारी,संसदवादी र संशोधनवादी) सबैले नेकपाको ७०औ स्थापना दिवस र १४९औ लेनिन जयन्ती मनाए । सरकारी नेकपाले निकै ताम झामका साथ नेकपा दिवसका दिन संसदवाद र संशोधनवादलाई जिल्लास्तरसम्म संगठित बनाउने काममा सफल भएको देखाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दुई जना कम्युनिस्ट राजाहरुले पार्टी एकताको घोषणालाई जिल्लासम्म पु¥याएको घोषणा गरे । त्यो यद्यपि नेकपाको व्यानरमा गरिएको कार्यक्रम थियो तर त्यहाँ पनि वर्गभेद स्पष्ट देखिन्थ्यो । दुईवटा वर्ग–राजा र रजौटा । केपी र दाहाल मानौं ती सबै मध्यका वेग्लै वर्ग–राजा वर्गबाट आएका जस्ता देखिन्थे । त्यो कम्युनिस्ट व्यानरमा तर सामन्तवाद बलियो गरी र छर्लङ्गै हुने गरी देखियो भन्ने स्वयम् उक्त पार्टीका नेता तथा कार्यकर्ताको भनाइ थियो ।

अहिले नेपालमा त्यही खालका संसदवादी र संशोधनवादी कम्युनिस्टहरुको नेतृत्वमा सरकार गठन भएको छ । तर नामबाट मात्रै यी कम्युनिस्ट हुन् । सिद्धान्त, विचार र राजनीतिका हिसावले ती कम्युनिस्ट होइनन् भन्ने कुरा स्वयम् उनीहरुले पनि भन्दै आएका छन्, व्यवहारमा पनि पुष्टि र पुनर्पुस्टि गर्दै आएका छन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा जुनबेलादेखि माक्र्सवादको खोल ओढेर माक्र्सवाद विरोधी धाराको रुपमा संशोधनवादको उदय भयो, त्यसैबेला देखि त्यसका विरुद्ध निरन्तर संघर्ष पनि चल्दै आएको छ र नेपाली कम्युनिस्ट आन्दोलनवारे पनि सत्य यही हो । लेनिनको सम्पूर्ण राजनीतिक जीवनकालभरी माक्र्सवाद र संशोधनवादबीच गहन वादविवाद र संघर्ष चलेको इतिहास छ । यस दौरानमा लेनिनले माक्र्सवादको रक्षा मात्रै गर्नु भएन, अपितु यसको खजानामा महत्वपूर्ण प्रस्थापनाहरु पनि थप्नु भयो, जसलाई आज हामी माक्र्सवाद लेनिनवाद भन्दछौ । अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भएका विकासक्रममा समय समयमा नयाँ अनुहारमा देखा परेका बर्नस्टिनहरु, ट्राटस्कीहरु, ख्रुश्चेभ, ब्रेझनेभ, ल्युशाओचीहरु, नानारुपी अवसरवादीहरुको विरुद्धको संघर्षमा माक्र्सवादको अजेयता र जीवन्तता पुष्टि हुँदै आएको छ । तर अहिले नेपालमा संशोधनवादीहरु संशदवादको आहालमा रमाई रमाई सत्ता स्वाद लिंदै छन् र तत्काललाई हेर्दा उनीहरुको बोलवाला देखिन्छ । यो त्यसवेलासम्म देखिने छ, जुनबेलासम्म नेपालका सच्चा कम्युनिस्टहरुले नेपाली जनताकाबीचमा अवसरवाद र संशोधनवादको वास्तविक सार र रुपलाई उदङ्ग्याउन सफल हुने छैनन् ।

लेनिनको सुप्रशिद्ध कृति ‘राज्य र क्रान्ति’मा लेनिनले भन्नु भएका निम्न भनाइहरु अहिले नेपालका यी नामधारी कम्युनिस्टहरुलाई पनि लागु हुन्छ, जसमा उहांले भन्नु भएको छ–अहिले माक्र्सको शिक्षाको सम्वन्धमा जुन कुरो उठीरहेको छ, त्यही कुरो इतिहासको क्रममा, क्रान्तिकारी विचारकहरु र मुक्तिको लागि संघर्षरत उत्पीडित वर्गहरुका नेताहरुका शिक्षाको सम्वन्धमा वारम्वार उठने गरेको छ । महान क्रान्तिकारीहरुको जीवनकालमा थिचाहा वर्गहरुले उनीहरुलाई निरन्तर रुपमा लखेटने र हैरान पार्ने काम गरेका छन् र उनीहरुका शिक्षाहरुप्रति अत्यधिक जंगली दुर्भावना, अत्यधिक भयानक घृणा र निन्दा तथा बदनामीका अत्यधिक विवेकहीन अभियानहरुका साथ व्यवहार गर्ने गरेका छन् । उनीहरुको मृत्युपछि उनीहरुलाई निर्दोष पवित्र मूर्तिमा फेर्न, उनीहरुलाई सन्त बनाउन र उत्पीडित वर्गहरुको सान्त्वनाका लागि र तिनीहरुलाई छक्याउने उद्देश्यले उनीहरुको नामको वरिपरि प्रकाशको घेरा हाल्न प्रयत्नहरु गरिरहन्छन्, र त्यसका साथै, क्रान्तिकारी शिक्षाको सारतत्वलाई मेटाउन, त्यसको क्रान्तिकारी धारलाई भुत्ते पार्न र त्यसको अशिष्टिकरण गर्न खोजिन्छ । वर्तमान समयमा पुंजीपति वर्ग र मजदुरवर्गीय आन्दोलनभित्रका अवसरवादीहरु माक्र्सवादको चिरफार गर्नमा एकसाथ लागेका छन् । उनीहरु माक्र्सवादी शिक्षाको क्रान्तिकारी अत्मालाई पन्छाई, त्यसको क्रान्तिकारी आत्मालाई पन्छाउछन्, हटाउछन् र बंग्याउछन् । उनीहरु पुंजीपति वर्गलाई मान्यहुने वा मान्य देखिने कुरोलाई अगाडि सार्छन् र त्यसको प्रशंसा गर्दछन् ।

लेनिनले करीब ९१ वर्ष अगाडि भनेका उल्लेखित कुरा नेपालमा अहिले पुंजीपति वर्गलाई मान्यहुने वा मान्य देखिने कुरोलाई अगाडि ल्याएर सरकारी नेकपाले देखाइ दिएको छ । पुंजीपति वर्गलाई मान्यहुने वा मान्य देखिने कुरो भनेको माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरुलाई उनीहरुले देख्न नपर्ने ठाउंमा मिल्काउने हो, जुन काम पूर्व एमालेले उसको पार्टी कार्यालयमा साम्राज्यवादका प्रतिनिधिहरुको उपस्थितिलाई सहज बनाउन माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरुलाई उनीहरुले नदेख्ने ठाउँमा थन्काएको थियो र यसलाई उसले पहिलेदेखि गर्दै आएको थियो । अब यो पुँजीपति वर्गलाई मान्य हुने वा मान्य देखिने कुरो गर्नु पूर्व माकेको लागि नौलो थियो, तर एमालसितको माया पिरतीलाई गहन, बलियो र कसिलो बनाउन उ पनि त्यस्तै गर्न तम्सिएको छ । उसले यसको सुरुवात एमालेसित विलयसंगै गरेको छ ।
अर्कोतीर नेकपा (क्रान्तिकारी माओवादी)ले उसको पार्टी कार्यालयमा वेग्लै तरिकाले यो दिवसलाई मनाउने काम मात्रै गरेन, यसलाई पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ र अर्का पार्टीका स्थायी समिति सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेलले क्रान्तिको झण्डालाई अझ उचाइमा उठाउनु पर्ने आवश्यकतामा जोड दिदै आम क्रान्तिकारी कम्युनिस्टहरुको एकतामा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा नेकपा विप्लवबाट पार्टी प्रवेश गर्ने कमरेडहरुलाई अविर लगाएर पार्टी प्रवेशको लागि उहाँहरुको स्वागत गर्दै महासचिव किरणले विभिन्न समूहमा छरिएका, सरकारमा नरहेका र सरकारविरोधी मोर्चामा रहन चाहने सबै कम्युनिस्टहरुको एकताका लागि आव्हान पनि गर्नु भएको थियो । [email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here