राउटे समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन : डा. डिला सङ्ग्रौला

401

 काठमाडौं / खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले बसाइ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउँदै राउटे समुदायले सरकारलाई खाद्यान्न र पालको माग गरेका छन् ।

सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन्।

‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न सङ्कटको पीडा त्यतिकै छ, सरकारले दिने महिनाको दुई हजार रुपैयाँले महिनाभरी प्राण धान्न मुस्किल हुन्छ’, उनले भने- ‘सरकार हामीलाई पाल र खाद्यान्न देऊ।’

‘बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उनले भने। मुखिया शाहीले प्रतिनिधिसभा सदस्य सङ्ग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गरे।

काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै सङ्ग्रौलाले भनिन्, ‘मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुंगे युगमा छन्।’

लोपोन्मुख जातिको रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको जनाए ।

‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘यो समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन् ।’ सांसद डा सङ्ग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस् कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने जनाउँदै डा। सङ्ग्रौलाले उनीहरुलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्ने जनाउँदै राउटे समुदायमा सामाजिक घुलमिलनको अभियान चलाउनुपर्नेमा जोड दिइन् । उनले यस समुदायका कला संस्कृतिलाई बचाइराख्नुपर्ने धारणा व्यक्त गरिन् ।

राउटे बस्तीमा हाल ४६ घरपरिवार छन्। जम्मा एक सय ४६ जनाको सङ्ख्यामा रहेको राउटेले यसअघि जंगलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए।

राउटेलाई भत्ता

राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ। सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोवास गर्दै आएका राउटेलाई चैत महिनाको भत्ता वितरण गरिएको हो। स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो। समुदायका एक सय ४६ जनालाई भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरेसँगै गुराँस गाउँपालिका दैलेखले मासिक रुपमा भत्ता उपलब्ध गराउँदै आएको छ। राउटे समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा गुराँस गाउँपालिका र सोसेक दैलेखमार्फत राउटे परियोजना सञ्चालित छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here