काठमाडौं / गृहमन्त्रालयले गत चैत्र १९ गते ७७ जिल्लामा परिपत्र गरेको नागरिकता सम्बन्धी आदेश विभिन्न राजनीतिक दलका नेताहरुको अगुवाइमा काठमाडौंको बानेश्वर चोकमा जलाइएको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरी बीच केही बेर तनाव भएको थियो ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको थियो । विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी सरकार लागेकाले आन्दोलन गर्नुपरेको जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले जनाउनु भएको छ । उहाँले तत्काल विधेयक खारेज नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनु भएको छ ।
प्रदर्शनमा राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल), नेकपा (माले), जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक पार्टी र विभिन्न संघसंस्थाका नेता कार्याकर्ताहरुको सहभागिता थियो । प्रदर्शनकारीहरुले गृहको परिपत्र जलाएपछि नयाँबानेश्वर चोकमा कोणसभा गरेका थिए ।




















