कैलाली- कैलाली जिल्लामा पर्ने लम्कीमा मंगलबार बिहानै ट्रकको ठक्करबाट १९ बर्षिय सुनिता रावल नाम गरेकी एक युवतीको मृत्यु भएको छ । युवतिको मृत्यु पछि आक्रोशित मृतकका आफन्त र स्थानीयहरुले घटनास्थलमा आन्दोलन गर्नुका साथै लम्की चौराहमा टायर बालेर प्रदर्शन र ढुङ्गामुढा गरेका छन् ।
स्थानीयहरुको आन्दोलनमा परी ७ जना प्रहरी घाइते भएका छन् भने एक शिक्षक पनि घाइते भएका छन् । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको छ । अहिले लम्कीमा ठूलो मात्रामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । स्थानीयको भिडमा र आन्दोलनलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि शसस्त्र प्रहरी परिचालन गरिएको हो ।
करिब २ सय भन्दा बढी सशस्त्र प्रहरीको फोर्स अहिले लम्कीमा छ । लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्ने मृतक रावललाई ट्रकले ठक्कर दिएपछि सडकमा ढलेकी थिईन । ट्रकको ठक्करबाट सडकमा ढलेकी उनलाई ट्रक ब्याक गरी पछाडिको पाङ्ग्राले कुल्चेर मारेको भन्दै ट्रकलाई जलाएर चालकलाई समेत मार्ने माग सहित सडकमा उत्रिएका स्थानीयहरुलाई अहिले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिमेन्ट लोड गरेर पश्चिमबाट पुर्व तर्फ गुडिहेको ट्रक र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लगिएको जनाएकोछ ।


















