मजदूर दिवसलाई क्यालेण्डरमा मात्र सिमित नगर !

190

–प्रीति रमण
आज यी शब्द लेख्न बसिरहँदा संसारभरि मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्झना भइरहेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालेको १३ दशक पार गरिसकेको छ । श्रमिकहरुको अधिकारको सवालमा भएको आन्दोलनको सम्झना स्वरुप अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको इतिहास छ । आजको दिन पनि नेपालमा सत्तापक्षले सरकारी विदा दिएको छ । मजदूर दिवसलाई नेपाल सरकारले पनि महत्व दिएको छ भन्ने सन्देश यो सरकारी विदाले पनि गरेको छ । तर अझै पनि मे दिवस अर्थात श्रमिक दिवस र त्यसले उठान गर्न खोजेका कुरा कागजमा मात्रै सिमित छन् भन्ने कुरा आजको अवस्थामा पनि मजदूरहरुको दयनीय स्थितिले स्पष्ट गर्दछ । सरकारले मे दिवसका दिन औपचारिकताका लागि भएपनि सार्वजानिक विदा दिएको छ भन्न हिचकिचाउन पर्दैन ।

नेपालमा श्रमिकहरुको अवस्था कस्तो छ भन्ने बारे यहाँ उल्लेख गरिरहन पर्छ जस्तो लाग्दैन । तर अझै पनि मजदुरहरुको हकअधिकारको संरक्षण हुन नसकेको अवस्थाले मजदूरहरुको बारेमा आजको दिन केही लेख्नै पर्छ भन्ने मलाई लागेको छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ का लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरेता पनि ८ घण्टे अभियान भने नेपालमा लागू हुन सकेको छैन । लामो समयसम्म मजदुरले काम गरेतापनि काम अनुसारको ज्याला मजदुरहरुले अझै पाउन सकेका छैनन् । अझ भन्ने हो भने नेपालमा मजदूरको परिभाषा नै हुन सकेको छैन भन्न सकिन्छ । मजदूरले कति घण्टा श्रम गर्ने ? यो प्रश्नको जवाफ सत्तासीनहरुले समेत दिन नसक्ने अवस्था छ । नेपालमा अहिले कम्युनिष्टहरुको सरकार छ । मजदूरहरुको हक र हितका लागि अरु कुनैपनि राजनीतिक चिन्तनका शक्ति र व्यक्तिहरुले भन्दा कम्युनिष्ट पार्टी र कम्युनिष्ट आदर्शलाई पछ्याउने हरेक व्यक्तिले सोच्ने र अभियान थाल्ने गर्दछन् भन्ने आम जनविश्वास पाइन्छ । तर कम्युनिष्टहरुकै सरकार देशमा निर्माण भएको पनि डेढ वर्ष बितिसकेको अवस्थामा समेत मजदूरहरुको अधिकारका बारेमा सरकारले कुनै कार्यक्रम तर्जुमा गर्न सकेको छैन । यो देशकै लागि लाज लाग्ने विषय हो ।

हुन त सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिएतापनि सोही अनुसारको नीति भने कार्यन्वयनमा विश्वका कुनै देशमा आउन नसकेको अवस्था छ । नेपालको हकमा वि.सं २०४६ को राजनीतिक परिवर्तन पछि नेपालमा यो दिवसमा सार्वजनिक बिदा थालिएता पनि विदामा मात्रै मजदूर दिवस सिमित भएको छ । अझै पनि मजदूरले काम गरे अनुसारको ज्याला पाउन सकेका छैनन् । जसका कारण मजदूर दिवस नेपालका मजदूरहरुका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हुन पुगेको छ । मजदूर दिवस सरकारले मनाउने एउटा भव्य पर्व जस्तै बन्न गएको छ नेपालको हकमा । यो दिनमा सार्वजनिक विदा दिइएता पनि मजदूरहरुले काम नगरेपछि बेलुका खान समेत नपाउने अवस्था सृजना हुन्छ । मजदूरको घरमा चुलो नबल्ने अवस्था हुन जान्छ । मजदूरका परिवारहरु, मजदूरका बच्चाहरु सबैले एकजना मजदूरको मेहनतको मजदूरीबाट गुजारा चलाउनुपर्ने बाध्यात्मक अवस्था छ । यो अवस्थाको अन्त्य गर्न कम्युनिष्ट पार्टीको सरकारले समेत योजना बनाउन सकेको छैन ।

मजदूरकोे श्रमको उचित मुल्यको व्यवस्थापन र उनीहरुको आर्थिक स्तर उकास्नको लागि आवश्यक जिविकोपार्जनका शीप र तालिमको विकास जरुरी हुन्छ । कमसेकम मजदूरका बच्चाहरुलाई अनिवार्य स्कुल र निःशुल्क शिक्षाका साथै निःशुल्क स्वास्थ्य उपचार समेतको व्यवस्था राज्यले गर्न सक्नु पर्दछ । नेपाली मजदूरको नेपाली ज्यालाबाट नेपालका महंगा स्कुलहरुमा मजदूरले पढाउन सक्ने अवस्था छैन । त्यसैगरी मंहगा अस्पतालहरुमा नेपालका मजदूरहरुले उपचार गर्न सक्ने हैसियत राख्न सक्दैन । सरकारले कम्युनिष्ट आदर्शलाई पछ्याउने हो भने प्रारम्भिक चरणमा मजदूरहरुका लागि के गर्न सकिन्छ ? सोच्न र योजना बनाउन जरुरी छ । केवल भित्ते क्यालेण्डरमा मात्रै मजदूर दिवस सिमित गर्ने हो भने सरकारी बिदा पनि कटौति गरे हुन्छ । यो बिदाको सदुपयोग नेपालका मजदूरहरुका हकमा बिल्कुलै भइरहेको छैन । त्यसैले राज्यले मजदूरकोे श्रमको उचित कदर हुने किसिमको ज्याला निर्धारण गरी उनीहरुको श्रमको सम्मान गर्दै बलियो नीति निर्माण गरी कार्यान्वयनमा लगाउन सक्नुपर्दछ तब मात्र मे दिवसको सान्दर्भिकता रहेनछ । भाषणमा ठूला कुरा गर्दैमा मजदुरको हक र हित हुन सक्दैन, आवश्यक नीति निर्माण गरी कार्यान्वयन तहमा नपुग्दासम्म मजदूर दिवस मनाउनुको कुनै अर्थ देखिदैन । यसतर्फ कमसेकम कम्युनिष्ट सरकारले ध्यान पु¥याउनु आवश्यक छ ।[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here