काठमाडौं / मनमोहन मेमोरियल अन्तर प्रदेश यू—१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश तीनले लगातार दोस्रो खेलमा पनि जित हात पारेको छ । टियु क्रिकेट मैदानमा विहीबार भएको खेलमा प्रदेश तीनले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २३ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि विनित खत्रीले २५, दिलिप सुनारले २४ र उनिस विक्रम सिंहले २२ रन बनाउन सफल भयो ।
बलिङतर्फ दिपक बोहराले पाँच विकेट लिए । उनले ५ ओभरमा १२ रन मात्रै खर्चिदै विकेट लिएका थिए । ९७ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश तीनले ११।१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । प्रदेश तीनका लागि दिपक बोहराले ३५ रन बनाए । त्यस्तै, आइस भट्टराईले अविजित ३१ रन बनाए ।
यसअघि उद्घाटन खेलमा प्रदेश तीनले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । आजै भएको अर्को खेलमा प्रदेश सातले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले २०.५ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्रै बनाएको थियो । गण्डकी प्रदेशका लागि अविषेक थापाले अविजित २९ रन बनाएका थिए भने रोशन सिग्देलले १४ रनको योगदान दिए । ९१ रनको सामान्य चुनौती पाएको प्रदेश सातले २२.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । प्रदेश सातका लागि सन्देश भट्टले अविजित ३८ र अनिल थापाले २३ रन
बनाए ।


















