हाम्रो देशमा शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना छोराछोरीहरुलाई पढाउनसमेत गाह्रोभइसकेको छ । किनकि निजी विद्यालयहरुको शुल्क निकै महंगो भएको छ । भारतको असम राज्यस्थित पमोहीमा एउटा यस्तो विद्यालय छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा शुल्कको रुपमा रकम बुझाउनु पर्दैन फोहोरको पोको बुझाए पुग्दछ । उक्त विद्यालयको नाम हो अक्षरा विद्यालय सन् २०१६ को जुन महिनामा स्थानीय एक समाजसेवी जोडीले उक्त विद्यालयको स्थापना गरेको हो । सुरुमा निःशुल्क रुपमा पढाउने उद्देश्य राखी स्थापना गर्ने उनीहरुको विचार थियो । पछि स्थानीय समुदायमा प्रदूषणको समस्या निकै टड्कारो देखेपछि उनीहरुले नयाँ जुक्ति लगाए । स्थानीय मानिसहरुमा प्लास्टिक जलाउने चलन थियो र त्यसरी प्लास्टिक जलाउँदा हावा निकै प्रदूषित भइरहेको थियो । त्यसैले उनीहरुले उक्त विद्यालयमा शुल्कको रुपमा अभिभावकले आफ्नो घरमा संकलन गरेको प्लास्टिक फोहोर बुझाउनुपर्ने नियम बनाए ।
स्थानीय ढुंगाखानीमा काम गर्ने बालबालिकाहरुलाई उत्प्रेरित गर्दै विद्यालयसम्म ल्याउने चुनौती पार गर्नका लागि विद्यालय संस्थापकहरुले अर्को अनौठो जुक्ति पनि लगाएका छन् । उक्त विद्यालयमा ठूलो कक्षाका विद्यार्थीले सानो कक्षाका विद्यार्थीलाई पठाउने, सिकाउने र त्यसरी पढाएबापत खेलौना मुद्रा प्रदान गर्ने गरिन्छ । ती डमी पैसालाई विद्यार्थीहरुले नजिकैका निश्चित पसलमा गएर अन्य सामान्य मुद्रा जसरी नै किनमेल गर्न सक्दछन् । विद्यालय र पसलेबीच सम्झौता गरिएको छ र त्यसरी हरेक दिन पसलमा ल्याएर सामान खरीद गरिएका डमी पैसाबापत पसलेलाई पछि रकम भुक्तानी गरिन्छ ।
विद्यालयको पाठ्यक्रमसमेत बाल अधिकार, बाल शिक्षा, वातावरण संरक्षण आदिमा जोड दिएर तयार पारिएको छ । प्लास्टिकका फोहोरलाई पुनःचक्रण तथा पुनः प्रयोगका विधिका बारेमा पनि विद्यालयमा सिकाइन्छ । ४ देखि १५ वर्षसम्मका १ सय जना विद्यार्थीले अहिले उक्त विद्यालयमा पढ्दै आएका छन् । हरेक विद्यार्थीले हरेक हप्ता कम्तीमा पनि २५ थान प्लास्टिकका फोहोरहरु विद्यालयमा ल्याउनुपर्ने नियम छ ।


















