ओडिसामा समुद्री फानी, ८ लाख मानिसलाई सारियो

101

नयाँ दिल्ली– समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशाको पुरीमा शुक्रवार बिहान ८ बजेदेखि १२ बजेभित्र प्रहार गर्दैछ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ।

बङ्गालको खाडीको ओडिसा तटीय क्षेत्रमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। पुरीमा सबै शैक्षिक संस्थाहरू बन्द गरिएका छन्।

ओडिशाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान, रेलसेवा र दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ। पुरीमा साढे ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिर पनि छ। समुद्री आँधीले सो मन्दिरमा क्षति पुग्न सक्छ कि भनेर अधिकारीहरू चिन्तित छन्।

मौसम बिभागका अनुसार फानीको प्रभावका कारण शुक्रवार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ। फानीको प्रभावले अहिले नेपालको पूर्वी क्षेत्रको मौसम पूरै बदली भएको छ। त्यहाँ हुरी बताससहित पानी पर्न थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here