अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी, सबै कागजात जलेर नष्ट

169

डोटी – बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । डोटी जिल्लाको मान्नाकापडीमा रहेको वडा कार्यालयको ढोका तोडफोड गरेर भित्र छिरी कागजातहरु एक ठाउँमा जम्मा गरेर आगो लगाइएको वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले जानकारी दिएका छन्।

‘वडा कार्यालय गाउँभन्दा अलि माथि छेउमा छ,’ उनले भने, ‘राति कार्यालयको ढोका फोडेर सबै सामग्रीहरु एक ठाउँमा जम्मा गरेर सुनियोजित तरिकाले जलाएको छ। सबै सामाग्रीहरु नस्ट भएका छन्।’ वडाध्यक्ष कोटकेनीले दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने जनाए।

रातिको समयमा आगो लगाइएको भए पनि मंगलबार बिहान मात्र प्रहरीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले घटनाबारे छानबिन गर्ने जनाए।

‘वडा कार्यालय भनेको जनताको कार्यालय हो जनताका केही बिमतिहरु भए वडाका जनप्रतिनिधि अध्यक्षसँग राख्ने हो’ उनले भने, ‘घटनाबारे गाउँपालिकाले टोली गठन गरी छानबिन गर्नेछ।’ आगो कसले लगायो, किन लगायो भन्ने अहिलेसम्म पत्ता नलागेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here