काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलट विमानभित्रै निदाएका छन् । घर वा होटलभित्र निदाएको भए त ठीकै थियो तर यी पाइलट हवाइजहाज उडाइरहेका बेला विमानभित्रै निदाएका हुन् ।
यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । एयरबस ३२० न्यारोबडी जहाजमा सबार चालक दलका सदस्यसहित १६५ जनाको ज्यानको जिम्मा को–पाइलटको भरमा छाडिदिए ।
नेपाल एयरलाइन्समा आउनुपूर्व हिमालयन एयरलाइन्समा कार्यरत थिए नागराज । हिमालयन एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे । त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले बर्खास्त गरेको थियो । आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।
हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो । तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।
नेपाल एयरलाइन्सका एक कर्मचारीका अनुसार ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् । यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’


















