कपिलबस्तु – भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका ३ दिनका लागी बन्द भएका छन्। शुक्रबार बिहान ७ बजेदेखि बैशाख २९ गते आइतबार बेलुका ७ बजेसम्मका लागि कपिलबस्तुका सिमानाका बन्द भएका हुन्।
भारतको सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दै कपिलवस्तुका सीमा क्षेत्र कृष्णनगर, मर्यादपुर, चाकरचौडालगायतका नाका बन्द गरिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रले जानकारी दिए।
नेपाली सीमा नाका बन्द रहेका बेला बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको प्रशासन कार्यालयले जनाएको छ। तर यो अवधिमा अन्य कुनै प्रकारको ओसारपसार तथा आवतजावत भने पूर्ण रुपमा बन्द रहनेछ। निर्वाचनको समयमा सिमाक्षेत्रमा अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र निगरानी समेत बढाइएको छ।


















